नेपाली कांग्रेसले आगामी मङ्सिर १३ देखि १५ गतेसम्म पार्टीको महासमिति बैठक काठमाडौँमा बोलाउने निर्णय गरेको छ । कांग्रेसको बुधवार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विधानबमोजिम नीति अधिवेशनमार्फत गर्ने निर्दिष्ट गरेका कार्य गर्ने गरी मङ्सिर १३ देखि १५ गतेसम्म महासमितिको बैठक बोलाउने निर्णय गरेको हो । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधवार सम्पन्न भएको हो ।
बैठकले महामन्त्री विश्वप्रकाश शर्माले निर्णयार्थ प्रस्तुत गर्नुभएका प्रस्तावलाई पारित गरेको थियो । कांग्रेसको साङ्गठनिक सुदृढीकरणका लागि यही साउन २० देखि ३० आन्तरिक, भदौ १० देखि २४ समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । यसैगरी पार्टी केन्द्रीय कार्यसमितिको विगतको बैठकबाट नेपाल दलित सङ्घको केन्द्रीय महाधिवेशन गर्न गरेको निर्देशनानुसार तोकिएको मितिमा अधिवेशन नगरेकोले सङ्घको आगामी भदौ १५ गतेभित्र आवश्यक परामर्श गरी तदर्थ समिति गठन गर्ने निर्णय गरिएको छ ।
केन्द्रीय समितिको आगामी असोज २ गते बस्ने बैठकले केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी असोज २ गते बस्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले विशिष्ट परिस्थितिमा विशिष्ट उद्देश्यले बनेको वर्तमान सत्तागठबन्धनलाई सुदृढ गर्दै राजनीतिक स्थिरता कायम गर्नु सबैको दायित्व हुने जनाएको छ । साथै कांग्रेसको तर्फबाट निर्वाचित स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार र सबै तहका जनप्रतिनिधिलाई जनताको अधिकतम हितमा कार्य गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणमा देखिएको बेथिति अन्त्य गर्दै आर्थिक अनियमितताबाट अलग रहन र जनतामा सुशासनको प्रत्याभूति हुने गरी परिचालन गर्ने सङ्कल्प गरेको छ ।
कांग्रेसले दैनिक ज्यालादारी गरेर जीवकोपार्जन गर्ने, सडकपेटीमा सानातिना व्यापार गरी गुजारा चलाउँदै आएका तर हाल विस्थापन भई बेरोजगार रहेका व्यक्ति परिवारका बारेमा सूक्ष्म अध्ययन गरी उनीहरूको जीविकोपार्जन गर्ने उचित बन्दोबस्त मिलाउन सरकारसँग माग गरेको छ । यसैगरी हालसालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिर निस्कँदै गर्दा पक्राउ परेको करिब एक सय किलो सुनका सन्दर्भमा गम्भीरतापूर्वक गहिरो अनुसन्धान गरी सुन तस्करीमा संलग्न दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन बैठकले सरकारसँग माग गरेको छ ।
कांग्रेसले नागरिकतासम्बन्धी नियमावली यथाशीघ्र बनाई संविधान र कानूनबमोजिम वास्तविक नागरिकलाई नागरिकता प्रदान गर्ने कार्य सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीघ्र पारित गर्न ध्यानाकर्षण सहमतिका आधारमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीघ्र संसद्बाट पारित गर्न र सङ्घीय निजामती सेवा ऐन, सङ्घीय प्रहरी ऐन, सङ्घीय शिक्षा ऐनबारे बृहत् छलफल र परामर्श गरी यथाशीघ्र विधेयक संसद्मा ल्याई पारित गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७९ साउन २८, असोज ३, असोज १५, असोज १७, असोज २८, मङ्सिर २४, पुस ३, पुस २६, फागुन १३, चैत १, चैत ५, चैत १६ र चैत १९ गते बसेको बैठकद्वारा पारित निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको छ । बैठकले केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले प्रस्तुत गर्नुभएको निर्वाचनसम्बन्धी प्रतिवेदनका निमित्त समितिका संयोजकलगायत सबै सदस्य एवं सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टीको विधानबमोजिम बैठकमा प्रस्तावित विभागको नाम र कार्यक्षेत्रसम्बन्धी आएको प्रस्तावलाई बैठकमा प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी पारित गर्ने निर्णय गरिएको छ ।