सिंहदरबारस्थित पुरानो संसद् (ग्यालरी बैठक) भवनको पुरानै शैलीमा प्रवलीकरण गरिने भएको छ । ग्यालरी बैठक भवन एक सयवर्षभन्दा पुरानो र माटोद्वारा निर्माण गरिएकाले प्रवलीकरण महङ्गो हुनसक्ने अनुमान गरिएको छ । आगामी मङ्सिरदेखि प्रबलीकरणको काम सुरु गर्ने तयारी भैरहेको सरकारले राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिलाई जानकारी गराएको हो । ऐतिहासिक राजनीतिक र नेपाली वास्तुकलाको महत्व बोकेको भवनलाई पुरानै शैलीमा प्रवलीकरण गरिने सहरी विकासमन्त्री सीता गुरुङले बताउनुभयो । मुलुकको संसदीय इतिहासको साक्षीकारुपमा रहेको भवन र त्यहाँको वास्तुकलामा कुनै क्षति नपुर्याइ पुरानै शैलीमा जस्ताको त्यस्तै ढाँचामा निर्माण गरिने पनि उहाँले उल्लेख गर्नुभयो ।
उक्त भवन निर्माणका सन्र्दभमा परामर्शदाता नियुक्त भई डिजाइन कार्यअघि बढिसकेको र साउन महिनाको अन्त्यसम्ममा प्रतिवेदन प्राप्त भएपछि निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी सहरी विकास तथा भवन विभागले गरेको छ । सरकारले चालु आर्थिक वर्षमा उक्त भवन सवलीकरणका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजनाको आधारमा निर्माण अघि बढाइने सो भवन २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेको थियो ।
पछिल्ला केही वर्ष यता भवनको छानोबाट पानी चुहिएर भत्कने सम्भावना बढदै गएपछि प्लास्टिकले छोपेर राखिएको छ । हाल सो भवन संसद् सचिवालयका बिग्रेका, भाँचिएका र तोडफोड भएका सामग्री थन्क्याउने थलोका रुपमा प्रयोग भइरहेको छ ।
विसं २०१६ बाट प्रारम्भ भएको नेपालको संसदीय इतिहास त्यहीँ भवनबाट सुरु भएको हो । बैठकमा सांसदहरुले नेपालीपन, वास्तुकला र चित्रकलाको विशिष्ट ओज बोकेको ग्यालरी बैठकको इतिहास मेटन नदिन गरिएको प्रयास सकारात्मक रहेको बताउनुभएको थियो ।
राष्ट्रिय पञ्चायतको बैठक समेत बस्ने सो भवनमा राजतन्त्रको विरोध र गणतन्त्रको स्थापना गर्न भनी रामराजाप्रसाद सिंहले २०४२ साल असार ३ गते बम विस्फोट समेत गराएका थिए ।
मुलुककै पहिलो संविधानको रूपमा लिइने ‘नेपाल सरकार : वैधानिक कानुन’ २००४ पनि तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले यही भवनमै घोषणा गर्नुभएको थियो । तर यो संविधान कार्यान्वयनमा आउन भने सकेन । यही संसद् भवनमा भारदारी सभा पनि बसेको थियो ।
पहिले राणाहरूले आफ्नो निवासमा भेट्दा पारिवारिक र आन्तरिक सुरक्षाका धेरै विषयहरू विदेशी पाहुनालाई थाहा हुने भएकाले यो भवनलाई पाहुना भेटघाट गर्ने थलोको रूपमा प्रयोग गरेको पाइन्छ । साथै सुरुमा यो भवनलाई राणाहरूले भोजभतेर, नाचगान तथा रमाइलो गर्ने ठाउँका रूपमा प्रयोग गर्दैआएको जानकार बताउँछन् ।
ग्यालरी बैठकमा २०१५ सालको पहिलो संसददेखि २०६२ र ६३ को अन्तरिम संसदसम्मका बैठकहरु सञ्चालन भएका थिए । संविधासभाको निर्वाचनपछि सदस्यको सङ्ख्या ६०१ भएसँगै नयाँ बानेश्वरको सम्मेलन केन्द्रमा संसद् सरेको थियो ।।