हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार राईले रूखमा डेरा जमाएर अनलाइन कक्षा लिएको खबर भाइरल भएपछि उनीजस्ता छात्रको समस्याप्रति नेपाल टेलिकमको ध्यानाकर्षण भएको छ । उनको गाउँ सिम्लेमा सहजै नेट कनेक्ट हुने गरी नेपाल टेलिकमले यसै सातादेखि फोरजी टावर सञ्चालनमा ल्याउने भएको छ ।
धनकुमार स्थानीय सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र हुन् । घरमा राम्रोसँग इन्टरनेट नटिप्ने भएपछि उनी ८-९ दिन अनलाइन कक्षामा सहभागी हुन सकेनन् । पढाइ छुट्दा खिन्न भएका धनकुमारले डेटा कनेक्ट हुने ठाउँ खोज्दै जाँदा रूखमा सिग्नल भेट्टाए । घरनजिकैको अग्लो रूखमा बिस्तरा लगाएर अनलाइन कक्षा लिन थाले । उनको तस्बिरसहितको समाचार मिडियामा आयो र भाइरल भयो ।
धनकुमारजस्तै इन्टरनेट नटिपेर अनलाइन कक्षा पढ्न नपाएका विद्यार्थीको समस्यालाई ध्यानमा राख्दै तत्काल सिम्लेसहित आसपासका गाउँ कभर गर्नेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपास्थित फोरजी टावर अनएयर गर्ने तयारी भएको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले बताए । ‘बुईपामा टावर बनिसकेको छ । धनकुमारको गाउँमा बुईपाको टावरले काम गर्छ,’ पन्थीले भने, ‘बाँकी केही उपकरण जडान गरेर शुक्रबारदेखि बुईपाको टावर अनएयर गर्ने तयारी गरेका छौँ ।’
तुवाचुङमा पनि टावर राख्ने तयारी
धनकुमारको समाचार प्रकाशन भएपछि अर्खौलेलगायतका वडालाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ क्षेत्रमा पनि नयाँ फोरजी टावर राख्ने योजना अघि सारेको टेलिकमले जनाएको छ । नयाँ टावर राख्न जग्गा हेर्ने र स्थान निश्चित गर्ने काम भइरहेको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख पन्थीले बताए ।
कोभिड-१९ महामारीका कारण भौतिक उपस्थितिमा पठन-पाठन असम्भव भएपछि नगरपालिकाको निर्देशनअनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न थालेका थिए । यही क्रममा धनकुमारजस्ता कैयन् विद्यार्थीले समस्या भोग्नु परेको थियो ।
सरस्वती माविमा गत भदौ २९ देखि भौतिक उपस्थितिमै पठन-पाठन सुरु भइसकेको छ ।