काठमाडौ विश्वविद्यालय र मधेस विश्वविद्यालयले संयुक्तरुपमा उपाधि प्रदान गर्ने भएका छन् । सो सम्बन्धी स्मझौतापत्रमा आज ललितपुरमा आयोजित कार्यक्रममा हस्ताक्षर भयो । सम्झौता पत्रमा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा तथा मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यले हस्ताक्षर गर्नुभएको थियो । सम्झौतानुसार दुबै विश्वविद्यालयले जनप्रशासन तथा व्यवस्थापन विषयमा स्नातक तहको र संघीय शासन तथा जनप्रशासन विषयमा स्नातकोत्तर तहको पढाई संयुक्त रुपमा गराउने छन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. थापाले मधेस प्रदेश सरकारद्वारा गत बर्ष स्थापित मधेस विश्वविद्यालयसंगको सहकार्यले मधेस प्रदेशमा उच्च शिक्षाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरि मधेस विश्वविद्यालयका उपकुलपति डा. शाक्यले स्थापनाको पहिलो बर्षमै काठमाडौ विश्वविद्यालयसंग सहकार्य गर्दा आगामी दिनमा मधेस विश्वविद्यालयले गुणस्तरिय शिक्षा दिनकालागि थप प्रेरित गर्ने बताउनुभयो ।
काठमाडौ विश्वविद्यालयले गण्डकी विश्विविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसंग पनि संयुक्त उपाधि प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर गरिसकेको छ ।
यसबाहेक काठमाडौ विश्वविद्यालय अष्ट्रेलियाको वेष्टर्न सिड्नी विश्वविद्यालय, अमेरिकाको जर्ज मेसन विश्वविद्यालय र भारतको आइआइटी मद्राससंग समेत यस्तो सम्झौता गरिसकेको छ । जसअनुसार नेपालका विद्यार्थीले स्नातकोत्तर तहको ३ वटा सेमेष्टर नेपालमा र १ सेमेष्टर सम्बन्धित मुलुकमै गई अध्ययन गर्नेछन् ।
यसैगरि संयुक्त उपाधिकालागि भारत, अष्ट्रेलिया र अमेरिकामा भर्ना भएका विद्यार्थीले समेत १ सेमेष्टर नेपालमा आइ पढ्नुपर्नेछ । संयुक्त उपाधिकालागि दुबै विश्वविद्यालयले पाठ्यक्रम निर्माणदेखि अन्य विषय आपसी सहमतिमा तय गर्ने गर्छन् ।
विद्यार्थीको प्रमाणपत्रमा दुबै विश्वविद्यालयको छाप रहने र विद्यार्थीले दुबै विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुपर्नेछ । यस बाट विद्यार्थीले विश्वस्तरीय शिक्षा प्राप्त गर्नुकासाथै कम शुल्कमा विदेशी विश्वविद्यालयमा अध्ययन गर्न पाउने भनाई काठमाडौ विश्वविद्यालयको छ । साथै विदेशका विद्यार्थी माझ समेत नेपाल र नेपालको शिक्षाको गुणस्तरका बारेमा जानकारी पाउने विश्वविद्यालयले जनाएको छ ।।