यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौँ निकासी गरेका हुन् । यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका अनुसार यो वर्ष ८ क्विन्टलभन्दा बढी यार्सागुम्बाको निकासी अनुमति दिने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरले बताए ।
यार्सागुम्बा निकासीवापत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो ३० हजार रुपैयाँका दरले राजस्व उठाउने गरेको छ । अहिलेसम्म कार्यालयले यार्सागुम्बा निकासीवापत ८३ लाख ७० हजार रूपैयाँ राजस्व सङ्कलन गरेको उनले बताए ।
व्यापारीले यो वर्ष खरिद गरेको यार्सागुम्बा अझै बिक्री हुन बाँकी छ । गत असारदेखि खरिद गरिएको यार्सागुम्बा व्यापारीले निकासी गरेका छैनन् । “यार्सागुम्बा खरिद महँगोमा गरिएको छ तर अहिले मूल्य घटेका कारण पनि यार्सागुम्बा बिक्रीका लागि काठमाडौँ लगेका छैनौँ”, व्यापारी धनसिंह जागरीले भने, “अहिले जिल्लामै स्थानीयबाट सङ्कलनको काम भइरहेको छ ।”
अहिले यार्सागुम्बाको गुणस्तर अनुसार प्रतिकिलो ९ लाखदेखि २० लाख रुपैयाँसम्म मूल्य पुगेको छ । व्यापारीले यार्सागुम्बा ग्रेडका आधारमा बिक्री गर्छन् । व्यापारीले अहिले दार्चुला र भारतको धारचुलालगायत क्षेत्रमा यार्सागुम्बा सङ्कलन गरिरहेका छन् ।
व्यापारीले भारतबाट पनि लुकाइछिपाइ यार्सागुम्बा नेपाल भित्र्याउने गर्छन् । नेपालमा मात्रै उत्पादन कम हुने हुँदा भारतबाट नेपाल यार्सागुम्बा भित्र्याउने गरेको व्यापारी बताउँछन् । यार्सागुम्बा र अन्य जडीबुटी दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको मुख्य आर्थिक स्रोतको हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ ।