नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट को तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको छ ।
तीन खेलमा दोस्रो पराजय ब्यहोरेको नेपालको दुई अंक छ भने लगातार दोस्रो जित निकालेको वेस्ट इन्डिजले समूह‘ए’ मा चार अंक जोडेको छ ।
जिम्बावेको हरारे स्पोर्टस क्लबमा बिहीबार सम्पन्न खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा दुई सय ३८ रनमा समेटियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन बनाए । यसैगरी गुल्सन झाले ४२, कप्तान रोहितकुमार पौडेलले ३०,आसिफ शेख र करण केसीले समान २८ तथा दीपेन्द्रसिंह ऐेरीले २३ रन जोडे ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले तीन, अल्जारी जोसेफ, किमो पउल र अकिल हुसेनले समान दुई तथा कायल मेयर्सले एक विकेट लिए ।
यसअघि हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय ३९ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान साइ होपले १ सय ३२ रनको योगदान गरे । यसैगरी निकोलस पुरनले १ सय १५, ब्रेन्डन किंगले ३२, रोभमन पावेलले २९ र जेसन होल्डरले अविजित १६ रन जोडे ।
नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुल्सन झाले समान १ विकेट लिए ।
अब समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।