नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट को दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।
पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो ।
यसैगरी अमेरिका लगातार दोस्रो खेलमा पराजित भएको छ । यस अघि अमेरिका वेस्ट इन्डिजसँग ३९ रनको पराजित भएको थियो ।
जिम्बावेको हरारेस्थित टागासिंगा स्पोर्टस क्लबमा दुई सय आठ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।
नेपालका लागि भिम सार्कीले अविजित ७७ रन बनाए । यसैगरी दीपेन्द्रसिंह ऐरीले अविजित ३९, कुशल भुर्तेलले ३९, कप्तान रोहितकुमार पौडेलले १६, कुशल मल्ले १३ र आसिफ शेखले १२ रन जोडे ।
यसअघि टस हारेर ब्याङिको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७ रनको योगफल तयार पारेको थियो ।
अमेरिकाका लागि शयान जहान्गिरले सर्वाधिक १ सय १ बनाए ।
नेपालका लागि प्लेयर अफ दी म्याच करण केसीले चार, गुल्सन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए ।
तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिज तथा अमेरिकाले नेदरल्यान्ड्सको सामना गर्नेछन् ।