आइसिसी एकदिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा अमेरिकाले नेपाललाई जितको लागि २ सय ८ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेटको क्षतिमा २ सय ७ रन बनायो ।
अमेरिकाका लागि सायन जहानगिरले सर्वाधिक १ सय १ रन बनाए ।
बलिङमा नेपालका करण केसीले ४, गुलसन झाले 3, दीपन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए ।
यसअघि छनोटको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो ।
अमेरिका आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।
छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको तेस्रो खेल असार ७ गते वेस्ट इन्डिज र अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ ।
छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।
भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।