मधेस प्रदेशमा मेघ गर्जनसहित चलेको हावाहुरीबाट अन्नबालीमा असर गरेको छ । मङ्गलवार बिहान करिब एक घण्टा चलेको हावाहुरीले अन्नबालीमा नोक्सान पुर्याएको किसानहरूले जानकारी दिएका छन् ।
`फल लाग्ने बेला भएको मकैमा नोक्सान पुर्याएको छ,´ बर्दिबास-९ का किसान राम नरेशले भने, ` वर्षा मात्र भएको भए नोक्सान हुँदैनथ्यो, हावाहुरीले समस्या बनायो ।´ अहिले पनि पानी परिरहेको छ ।
वर्षा हुने समयमा हुरिबतास चल्नु जलवायु परिवर्तनको असर भएको विज्ञहरूको बुझाइ छ । मौसमको अनियमित फेरबदल र बेमौसमी हावाहुरी जलवायु परिवर्तनको कारक भएको जलवायु विज्ञ विराट पन्त बताउँछन् । अघिल्लो साता आएको हावाहुरीले पनि फल्दै गरेको आँप, लिची जस्ता फलफूल र बालीनालीमा असर पुर्याएको थियो ।
महोत्तरीका किसानहरूले क्षतिपूर्तिको मागसहित जिल्ला कृषि कार्यालय, कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहमा ध्यानाकर्षण समेत गराएका थिए । तराईमा केही दिनदेखि गर्मी पनि अत्याधिक बढेको छ । केही वर्ष अगाडि र अहिलेको तुलना गर्दा गर्मीमा नै निकै ठुलो फेरबदलको महसुस गरिरहेको स्थानीयहरू बताउँछन् ।
लामो समयदेखि खडेरी पर्ने र एकैचोटी वर्षा र हावाहुरी आउँदा किसानहरू समेत चिन्तित बनेका छन् । `पानी आउँदैन, आउन लाग्यो भने बौलाएर आउँछ, के हुन्छ भन्नेमा नै डर लागेर आउँछ,´ बर्दिबास-३ का किसान द्रोण खड्काले चिन्ता व्यक्त गर्दै भने ।