देशका विभिन्न स्थानबाट लागु औषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौँको काठमाडौँ महानगरपालिका-१६ पक्नाजोलस्थित सबल क्याफे एन्ड खाजा घरबाट अवैध लागु औषध आइस ड्रग्स जस्तो पदार्थ ३ ग्राम ५ मिलिग्राम, चरेस जस्तो पदार्थ २ सय ६४ ग्राम, लाइजरजिक एसिड डाइथेलामाइड १३ पिस र पोल्यान्ड जस्तो पदार्थ ३८ ग्राम र नगद ४९ हजार रुपैयाँसहित जापनिज नागरिक युचिरो अबेमास्तु र ३ जना नेपाली समेत गरी चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजा घरमा लागू औषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त लागू औषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ चौकिटोलस्थित सडकबाट अवैध लागू औषध गाँजा करिब ९२ किलोसहित भारत घर भएका १८ वर्षीय किशोर समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौँडातर्फ आउँदै गरेको बीआर ०१ बीएन १५१८ नम्बरको कारलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
बाँकेको कोहलपुर नगरपालिका-३ मैटहवाबाट अवैध लागू औषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय अक्ष कुमार थारुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मदन चोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित बुद्ध शान्ति गाउँपालिका-१ बस्ने २२ वर्षीय समीर दर्जी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेकबाट अवैध लागू औषध ब्राउन सुगर १ सय ७० मिलिग्रामसहित भारत पलिया बस्ने २४ वर्षीय मनोज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ गैरी गाउँबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ५० मिलिग्राम र नगद १० हजारसहित सोही ठाउँ बस्ने ५२ बर्सिया तस्लिमा बिबिसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेत लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागू औषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका-१८ मुसरी टोल नजिकबाट अवैध लागू औषध गाँजा करिब ३० किलोग्राम प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुध नगरबाट खटिएको प्रहरीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिहरूले बोरा फाली फरार भएपश्चात् जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।