चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन् । प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ मुलाबारीबाट स्थानीय ४५ वर्षीय राजेन्द्र पण्डितलाई पक्राउ गरेको हो ।
अपहरण तथा शरीर बन्धक कसुरमा उच्च अदालत हेटौँडा इजलासको वि.सं. २०७० माघ २१ को फैसलाले उनलाई ९ वर्ष कैद र रु ५० हजार जरिवाना सुनाएको थियो । तत्कालीन मुलिकी ऐन, (२०२०) को अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं बमोजिम सात वर्ष कैद र सोही महलको ७ नं बमोजिम २ वर्ष थप कैद गरी जम्मा ९ वर्ष कैद तोकिएको थियो । त्यसपछि पण्डित फरार थिए ।
पछिल्लो समय भारतबाट नेपाल आएको सूचना पाएपछि केही अघिदेखि सिआइबीको टोलीले उनको खोजी थालेकोमा मङ्गलबार पक्राउ परेका हुन् । उनलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
अपहरणमा संलग्न नुवाकोटका बद्रीप्रसाद ढुङ्गाना, काठमाडौँका गौतम योञ्जन, भारतका रोहित पालिवाललगायत पक्राउ परिसकेका छन् । मुख्य अभियुक्त भनिएका नुवाकोटका भीमसेन पण्डित अझै फरार छन् । भारतमा रहेका उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । राजेन्द्र भने भीमसेनका नजिकका मान्छे हुन् । डा. श्रेष्ठलाई अपहरण गरेपछि राख्ने ठाउँको व्यवस्थापनमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।
वि.सं. २०६७ जेठ ४ मा चितवनको भरतपुर महानगरपालिका-१०, साबिकको भरतपुर नगरपालिका-१० चौबिसकोटीस्थित चितवन अस्पतालबाट घर फर्कँदै गर्दा हाकिमचोक नजिकको भित्री सडकबाट डा. श्रेष्ठलाई अपहरण गरिएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार अपहरणपछि उनलाई काठमाडौँ र नुवाकोटका विभिन्न ठाउँमा बन्धक बनाई राखिएको थियो । अपहरण भएको १८ दिनपछि फिरौती लिएर डा. श्रेष्ठलाई अपहरणकारीले छोडेका थिए । अपहरणको ४ दिनपछि उनको ब्रिफकेस चितवनको मुग्लिन नजिक घोप्टेभिरमा फेला परेको थियो ।
अपहरणकारीलाई उनका परिवारले फिरौतीबापत भारतमा साढे ३ किलो सुन (तत्कालीन मूल्यअनुसार रु १ करोड १० लाख पर्ने) बुझाएपछि डा. श्रेष्ठ विसं २०६७ जेठ २२ गते धादिङको माझिकोटबाट अपहरणमुक्त भएका थिए । त्यो बेला उनीहरुले कल बाइपास गरेर परिवारसँग सम्पर्क गर्ने गरेका थिए । यसअघि काठमाडौँ महानगरपालिका-४ बस्ने ४१ वर्षीय गौतम योञ्जनलाई पनि सिआइबीको टोलीले नै काठमाडौँबाट पक्राउ गरेको थियो । (रासस)