शुक्रबार साँझ बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्यो । रास्वपाको समर्थन फिर्ता भएपनि प्रचण्ड नेतृत्वको सरकारले प्रतिनिधि सभामा बहुमत भने गुमाइहालेको छैन । पुस १० गते प्रधानमन्त्री नियुक्त दाहालले यसअघि ६ चैत्रमा दोस्रो पटक विश्वासको मत लिइसकेका छन् ।
दोस्रो पटक विश्वासको मत लिँदा सदनका १ सय ७२ सदस्यको समर्थन पाएका प्रचण्डको विपक्षमा मतदान गर्ने सांसदको संख्या ८९ थियो । माओवादी केन्द्र, नेपाली कांग्रेस, रास्वपा, जनता समाजवादी पार्टी (जसपा), एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरुले प्रचण्डलाई विश्वासको मत दिएका थिए । प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत लिँदा प्रतिनिधि सभामा रास्वपाका १९ सांसद थिए । उपनिर्वाचनपछि सदनमा रास्वपाका १९ सांसद छन् ।
हाल प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८७, माओवादी केन्द्रका ३२, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ५, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, आम जनता पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ सांसद छन्। यी सबै सांसदहरुको संख्या जोड्दा १ सय ५६ हुन आउछ । स्वतन्त्र सांसदहरुको समर्थनपनि अहिलेसम्म सरकारलाई छ । यस हिसाबले अहिलेसम्म प्रधानमन्त्री प्रचण्ड प्रतिनिधि सभामा बहुमतको स्थितिमा छन् ।
प्रधानमन्त्री पदमा रहिरहन प्रतिनिधि सभाको कायम रहेको संख्याको सामान्य बहुमत आवस्यक पर्छ । यो संख्या भनेको कम्तिमा १ सय ३८ हो । तर, प्रतिनिधि सभाका थप १८ जना सदस्यको समेत विश्वास सरकारले गुमाएमा प्रचण्डले विश्वासको मत लिनुपर्ने हुन्छ।