हत्याका अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदा अस्वीकृत भएको छ।
शुक्रवार साँझ बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमाले सांसद कोइरीको बिरामी बिदा प्रस्ताव अस्वीकृत गर्दै उनको बारेमा अर्को बैठकमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।
‘माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानून बमोजिम हुने जानकारी गराउँदछु,’ सभामुख देबराज घिमिरेले भने ।
१० दिनसम्म नियमित रूपमा संसद बैठकमा नआएमा स्वतः पदमुक्त हुने भए पछि सांसद कोइरीले केही दिन आफू बिरामी भएका कारण उपस्थित हुन नसकेको भन्ने पत्र संसद सचिवालयमा पठाएका थिए। त्यहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रवारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए।
तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछाने तथा सत्तारुढ दलका सांसदहरूले आपत्ति जनाउँदै उनलाई पक्राउ गर्न सभामुखमाथि दबाब बढाएका थिए । जसका कारण संसद बैठक केही समयका लागि अवरुद्धसमेत हुन पुगेको थियो ।
कोइरीका कारण सत्तारुढ र प्रतिपक्ष बिचमा संसद बैठकमा आरोप प्रत्यारोप भएपछि पुनः सहमतिका आधारमा उनलाई अर्को अधिवेशनमा भने कारबाही गर्न सभामुख घिमिरे मन्जुर भएका थिए ।
मधेस आन्दोलनका क्रममा महोत्तरीमा असई थमन बिकको हत्याको आरोपमा सांसद कोइरी माथि जेल सजाय सुनाइएको छ । सो जेल सजाय सुनाएका कोइरीलाई पक्राउ गर्न चौतर्फी दबाब बढेको हो ।
उता, मनोरमा शेरचन, बिनाकुमारी थनैत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा भने हिजोको बैठकले स्वीकृत गरेको छ ।