नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज ७ जिल्लामा अधिवेशन हुँदैछ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन भइरहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
पार्टीले २० जिल्लाको वडा अधिवेशन आज असोज ५ गते एकैदिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो । तर बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेकोले ती जिल्लामा भने आज वडा अधिवेशन हुन नसकेको हो ।
कांग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गते प्रारम्भ भएको हो । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको हकमा क्रियाशील सदस्यता विवरण प्राप्त भएपछि समय तोकेर अधिवेशन हुँदै जाने उनले बताए ।
करिब ९ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । कांग्रेसले महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।