१० वटा हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ती जिल्लाका १८ वर्षभन्दा माथिका सबैलाई आजदेखि यही असोज १४ गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप दिन लागिएको हो । ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा आजदेखि अभियान थालिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
सहप्रवक्ता डा. अधिकारीका अनुसार खोप लगाउन छुटेका १८ वर्षभन्दा माथि उमेरका विद्यार्थी सबैलाई खोप लगाइने छ ।
काभ्रे र चितवनमा ३५ वर्षमाथिकालाई खोप लगाउन थालिएको छ । यसैगरी काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्ष माथिका खोप लगाउन बाँकी सबैलाई खोप लगाइने छ ।
यस्तै, मनाङ्, मुस्ताङ र पूर्वीरुकुम वाहेकका ५५ जिल्लामा ४५ वर्षमाथिका खोप लगाउन बाँकी सवै नागरिकलाई अभियानकै रूपमा खोप लगाइने उनले बताए ।
अहिले पहिलो मात्रा खोप लिनेहरूका लागि कात्तिक ४ देखि कात्तिक १४ गतेसम्म भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गरिने छ । काठमाडौं जिल्लामा यसअघि भेरोसेलको पहिलोमात्रा खोप लगाएर बसेकाहरूलाई आजदेखि दोस्रो मात्रा दिन थालिएको छ । यसको लागि असोज ६ गतेसम्मको मिति तोकिएको छ ।
मन्त्रालयले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर जान समेत अनुरोध गरेको छ । अहिलेसम्म नेपालमा पहिलो मात्रा ६२ लाख ३ हजार ३१६ जनाले र पूर्णमात्रा ५५ लाख ७८ हजार ८६५ जनाले लगाइसकेका छन् ।