नेपालमा पहिलोपटक एक नयाँ प्रजातिको चरा भेटिएको छ । उपल्लो मुस्ताङमा ‘ठेउवा’ प्रजातिको नयाँ चरा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण क्षेत्र कार्यालय लोमान्थाङले जनाएको छ ।
‘युरोपियन रोलर’ अथवा ‘युरोसियन रोलर’ नाम गरेको सो प्रजाति नेपालमै पहिलोपटक उपल्लो मुस्ताङबाट अभिलेख गरिएको हो । लोमान्थाङ नजिकको केकीघाङ क्षेत्रमा इलाका संरक्षण कार्यालय लोमान्थाङका कर्मचारी तथा स्थानीय पर्यटन व्यवसायी रामबहादुर गुरुङले दुई साताअघि सो प्रजातिको चराका तस्बिर कैद गरेका थिए ।
पर्यटनकर्मी गुरुङले देखेका चरा सुरुमा नेपालमा पाइने ठेउवा हो कि भन्ने आकलन गरिए पनि तिनलाई पहिचान गर्न उनले खिचेका चराका फोटा राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ‘इलाका संरक्षण कार्यालय’ जोमसोम-लोमान्थाङका प्रमुख एवं संरक्षण अधिकृत ऋषि बराललाई पठाइएको थियो ।
उक्त चरा ‘युरोपियन रोलर’ भएकोमा उनी विश्वस्त भए । यसलाई निर्क्योल गर्न चराका तस्बिरहरू नेपाल र बाहिरका चरा विज्ञहरूलाई पठाइयो । बेलायती चराविद् क्यारोल इन्स्किप, टिम इन्स्किप तथा नेपालका चराविद्हरू डा. हेमसागर बराल, सोम जिसी, सञ्जीव आचार्यलगायतले चरा ‘युरोपियन रोलर’ नै भएको र हालसम्म नेपालमा अभिलेख नभएको बताएका छन् ।
चरा अवलोकनमा रुचि राखेर नियमित चरा अवलोकन गर्ने गरेका एक्यापका कर्मचारी गुरुङले सो चरा नेपालमा पहिलो पटक अभिलेख गर्न पाउँदा उत्साहित बनाएको बताएका छन् । गुरुङ चरासम्बन्धी अवलोकनमा विशेष रुचि राख्ने गर्छन् ।
संरक्षण अधिकृत ऋषि बराल नेपालमा नयाँ चरा भेटिनुले थप अनुसन्धानको आवश्यकता देखिएको औंल्याए । ‘नयाँ प्रजातिको चरा कसरी यो क्षेत्रमा आयो ? यिनको अवस्था कस्तो छ ? उनले भने, ‘यसका लागि थप अनुसन्धान गर्नैपर्ने हुन्छ ।’
वरिष्ठ चराविज्ञ डा. हेमसागर बरालले उपल्लो मुस्ताङमा भेटिएको चरा नयाँ प्रजातिको भएको दाबी गरे । ‘वास्तवमा यो चरा नेपालमा पाइन सक्छ भनेर यसमा रुचि राख्ने विज्ञहरूले तराई क्षेत्रमा निकै खोज गरे, अन्ततः चरा उपल्लो मुस्ताङमा पो भेटियो,’ उनले भने, ‘यो चरा नेपालमा पहिलो पटक अभिलेख भएको छ, यो चरा वयस्क चरा भने होइन ।’
मुस्ताङमा भेटिएको यो नयाँ प्रजातिको चरासँगै अन्नपूर्ण क्षेत्रमा पाइने चराका प्रजातिको संख्या ५१९ पुगेको छ ।