पोखरामा कोभिड–१९ का कारण पछिल्लो समय पाँच महिनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागेको नेपाल हवाइ खेलकुद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।
“लामो समयदेखि बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सचेतना र उपकरणको जाँच गरेर उडान सञ्चालन गर्ने तयारी गरेका छौँ, अब यसै हप्ता उडान हुनेछ”, उनले भने । उनले सम्पूर्ण कम्पनीले उडान उपकरण जाँच गरेको र टेष्ट फ्लाइट पनि भएकाले अब एक दुई दिनभित्रै व्यावसायिक उडान गरिने जानकारी दिए ।
संस्थाले सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई एकदिने सचेतना तालिमसमेत प्रदान गरेको उनले बताए । संस्थाका महासचिव बलराम आचार्यले उडानसँग आबद्ध २०० व्यक्तिलाई प्याराग्लाइडिङ सुरक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिइएको बताए ।
साहसिक खेलका रुपमा ब्राण्डिङ भएको प्याराग्लाइडिङको पोखरामा सन् १९९९ देखि व्यावसायिक उडान भएको हो । पोखरामा प्याराइडिङका ६० कम्पनी रहेका छन् भने ३५० प्यारा पाइलट छन् । तीमध्ये १५ जना जति विदेशी प्यारापाइलट भने रहेको बताइन्छ । झण्डै एक अर्ब रुपैयाँको लगानी यस क्षेत्रमा छ भने एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
पहिलो बन्दाबन्दी खुकुलो भएसँगै प्याराग्लाइडिङ कम्पनीले उडानमा ५० देखि ६० प्रतिशतसम्म छुट दिएर आन्तरिक पर्यटकलाई आकर्षित गरेका थिए । छुटसँगै प्याराग्लाइडिङ गर्न पोखरामा आन्तरिक पर्यटकको सङ्ख्या निकै बढेको थियो । पहिले पाँच हजारदेखि आठ हजार रुपैयाँसम्म शुल्क लिइँदै आएकामा पछिल्लो समय २५ सयदेखि तीन हजार रुपैयाँमा उडान हुँदैआएको थियो । अब सञ्चालन हुने उडानमा कति शुल्क लिने भन्ने विषयमा टुङ्गो लागिनसकेको र व्यवसायीबीच छलफल गरेर मात्र शुल्क निर्धारण गर्ने तय गरिएको महासचिव आचार्यले जानकारी दिए । (रासस)