कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका हुन्थे या बेच्न लिएर हिंडिसकेका हुन्थे । बाउबाजेले सिकाएको ठेका बनाउने पुर्ख्यौली कलामा उनी अब्बल छन् ।
उनीजस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकीकै व्यवसाय गर्थे । तर दुई वर्ष भयो न उनीहरुले नयाँ ठेकी बनाउन पाएका छन् न व्यापारका लागि घुम्नडुल्न नै । बागलुङको बलेवामा रहेका चुँदार समुदायले परम्परागत प्रविधिको प्रयोग गरेर काठका ठेकी उत्पादन गर्दै आएका छन् । जङ्गलमा पाइने गिठेदारबाट बनाइने ठेकी गाउँघरमा दूध दही राख्नका लागि प्रयोग हुने गरेका छन् ।
कोरोनाका कारण उनीहरुको काम र व्यापार ठप्प छ । पछिल्लो समय बजार ओगटेका प्लाष्टिक र स्टिलका सामानले काठको ठेकीको माग घट्दै गएका बेला हुने गरेको अलिअलि व्यापारमा समेत महामारीले अवरोध गरेको पूर्णबहादुर बताउँछन् । “दुई वर्ष भयो घर छोड्न पाइएको छैन, काठ खोज्न जानु न ठेका कुँद्नु”, उनले भने, “अब त खुल्यो भने पनि प्लाष्टिकका भाँडाले काठका भाँडा नखोज्ने बनाउँछ होला ।”
ठेकाका लागि आवश्यक पर्ने गिठेदार बागलुङमा पाइँदैन । गुल्मी र पाल्पा पुगेर कहिले काठ ल्याउने त कहिले ठेकी नै उतै कुँदेर ल्याउने गरेका थिए । बन्दाबन्दीले उनीहरुको दिन दैनिकीमा असर गरेको छ । उनीहरूले बनाउने ठेकी गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिक्री हुने गरेका छन् । गिठेदारको ठेकीलाई व्यवसायीले मानाको ७०० रुपैयाँ देखि एक हजारसम्ममा बिक्री गर्ने गरेका छन् ।
स्थानीय काठबाट ठेकी बनाउन कठिन हुने र उपभोक्ताको माग पनि गिठेदारनै हुने भएकाले अहिले हात पट्याएर बस्नुपरेको टेकहादुर बताउँछन् । चाडपर्वको बेला गाउँ गाउँमा ठेका बोकेर डुल्ने उनीहरु दुई वर्षदेखि घरमै छन् । “दशैँ र चैतेदशैँमा बागलुङ कालिका आसपासमा राखेर ठेका बेचिन्थ्यो, काठका भाँडा खुब खोज्थे”,उनले भने, “फेसनका जिनिसले कम बिक्न थालेका थिए, त्यहीँमाथि कोरोनाले थला पार्यो ।”
मेहेनत धेरै लाग्ने र सीपको आवश्यकता हुने भएकाले युवापुस्ताको आकर्षण यो व्यवसायमा कम छ । काठका भाँडामा राखेको दुग्धजन्य पदार्थ मीठो र नसड्ने हुँदा पुरानो पुस्ताले खोजी गरे पनि नयाँ पुस्तामा प्लाष्टिकको मोह बढी रहेकाले व्यवसाय नै सङ्कटमा पर्न थालेको चुँदारा समुदाय बताउँछन् । (रासस)