जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारत सरकारले पूर्वाधार हस्तान्तरण गरेपछि आपसी समझदारीमा रेल सञ्चालन गर्न सकिने छ। मन्त्रालयस्तरमा केही कागजात आदानप्रदान र हस्तान्तरण गर्न बाँकी छ । त्यसपछि भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएका रेलको ट्र्याक, स्टेशन, भवन, आवास भवन, कम्प्युटरलगायतका सामग्री विधिवत् हस्तान्तरण हुनेछ ।
नेपालमा सरकार परिवर्तनले गर्दा केही दिन ढिला भएको मात्र हो - कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो। । कम्पनीले रेल सञ्चालनका लागि आवश्यक जनशक्तिलाई तालिम दिएको छ भने आवश्यक केही प्राविधिक जनशक्ति केही दिन भित्रै भारतबाट आउँदैछन्। नेपालमा रेल सञ्चालनको अनुभव भएका जनशक्ति नभएकाले भारतबाट करारमा जनशक्ति ल्याइएको हो । अहिले आवश्यकतानुसार जनशक्ति आएर तालिम दिएको उहाँले बताउनुभयो । तत्कालका लागि आवश्यक केही भारतीय तत्काल आउने र बाँकी चालकदलका सदस्यहरु रेल चलाउने मिति तय हुनासाथ आउनेछन् । कम्पनीमा २०० नेपाली र २६ भारतीय कर्मचारी रहने जनाइएको छ ।
रेल सञ्चालनका लागि आवश्यक परीक्षण सकिएको छ । केही दिन अघि मात्रै रेल्वे ट्रयाकको गति परीक्षण भई उपयुक्त प्रमाणित भइसकेको छ। परीक्षणका क्रममा ट्र्याक ठीक रहेनरहेको, सिग्नलले राम्रो काम गरेनगरेको, ‘एलाइनमेन्ट’ मिलेनमिलेको जस्ता सबै कुराहरू हेरिएको महाप्रबन्धक भट्टराईले जानकारी दिनुभयो।
अहिले कोभिड सङ्क्रमणको त्रास भए पनि भारततर्फ जयनगरसम्म जानका लागि बाधा नहुने उहाँले बताउनुभयो । अरु सार्वजनिक सवारी साधन चलिरहेकाले रेल पनि आपसी छलफलपछि चलाउन सकिने उहाँले बताउनुभयो । त्यसका लागि दुई देशका सरकारको तहबाट निर्णय गर्नुपर्छ । अहिले तत्कालका लागि जयनगर–जनकपुर चलाउने भन्ने छलफल भइरहेको छ । रेल चलेपछि नेपालबाट भारत र भारतबाट नेपाल दुवैतर्फ नै आवतजावत हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले केही समय पहिले रेलसम्बन्धी अध्यादेश स्वीकृत गर्नुभएको थियो । अध्यादेश आएको ६० दिनभित्र संसद्मा पेश गर्नुपर्ने व्यवस्थानुसार अहिले त्यो पेश भइसकेको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पाँचवटा रेलमार्ग अघि बढाउने सहमति भएको थियो । त्यसमध्ये सबैभन्दा पहिले जयनगर–कुर्था निर्माण भइसकेको छ । कुर्थाबाट बर्दिबाससम्मको रेलमार्ग निर्माण पनि अघि बढेको छ । जयनगर–कुर्था खण्डमा रेल सञ्चालनका लागि नेपाल सरकारले भारतीय सरकारी कम्पनीसँग खरिद गरेका २ वटा रेल गत वर्षको असोजमा नै जनकुर आइपुगेकामा अहिलेसम्म थन्किएर बसेका छन् ।