नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताएका छन् । संविधान दिवसका अवसरमा पोखरामा आयोजित पार्टीको कार्यक्रममा उनले पार्टीका तर्फबाट केन्द्रीय सरकारमा मन्त्री पठाइने जानकारी दिए ।
आगामी निर्वाचनसम्म अहिलेको पाँच दलीय गठबन्धनलाई कायमै राखिने उनले बताए । उनले भने, “विगतको सरकारले जनताका पीडालाई राम्रोसँग सम्बोधन गरेन । अहिलेको गठबन्धनको सरकारले विगतका गल्तीलाई दोहोर्याउनु हुँदैन । गठबन्धन बलियो बनाउँदै जनताको सेवामा लाग्नु पर्दछ ।”
अध्यक्ष नेपालले पुनः एमालेमा फर्केर जाने कुरा नसोच्न कार्यकर्तालाई आग्रह गर्दै भने, “असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पुर्याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे । हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो ।”
प्रचार गरिएजस्तो माओवादी केन्द्रसँग पार्टी एकता नहुने बताउँदै नेपालले कुनै पार्टीसँग एकता नगरी आफ्नै शक्तिका आधारमा अघि बढ्ने उल्लेख गरे । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतालगायतका परिर्वतनका उपलब्धिहरुको रक्षा गर्नु आवश्यक रहेको नेता नेपालले बताए ।
प्रतिनिधिसभा विघटनका सम्बन्धमा सर्वोच्चको फैसला ऐतिहासिक रहेको र नेपालको इतिहासमा संविधानवादको कोसेढुङ्गाका रूपमा रहने उनले उल्लेख गरे । “संविधान मिच्ने छैनौँ, यसको पालना गर्नेछौँ तथा संविधानको मूल्य र मान्यताको रक्षा गर्दै यसको मर्म र भावनाको सही प्रयोग हाम्रो पार्टीले गर्नेछ”, अध्यक्ष नेपालले भने।