प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पूर्णता पाउने भएको छ ।
प्रधानमन्त्री दाहालले सो बारेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हिजो संंसद भवनमा भएको छलफल पछि चैत १० गते भित्र सरकारलाई पूर्णता दिने बारेमा छलफल गरेका छन् ।
प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र चैत १० गते भित्रमा सरकारले पूर्णता पाउने गरी छलफल सुरु गरेका छन् । ‘विश्वासको मत लिए पछि सरकारलाई पूर्णता दिने गरी छलफल अघि बढेको छ।` लगानी बोर्डको बैठक पछि प्रधानमन्त्री दाहालले भने, ‘ विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारले पूर्णता पाउनेछ,’ दाहालले भने । उनका अनुसार सत्ता साझेदार दलसँग छलफल गरेर मन्त्रीमण्डल विस्तारका लागि भागबन्डा गर्ने कार्य विश्वासको मत लिए पछि अघि बढ्नेछ ।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पछि एक दर्जन भन्दा बढी मन्त्रालय रिक्त रहेका छन् । तीन पार्टीले छाडेका मन्त्रालय रिक्त भए पछि सरकारी काम कारबाही सहज ढङ्गले अघि बढ्न सकेको छैन ।
तीन वटा पार्टी सरकारबाट बाहिरिए पछि प्रधानमन्त्री दाहालले वन तथा वातावरण , युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालिरहेका छन् ।
यसै गरी, अर्थ, कृषि तथा पशुपक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा मन्त्रालयको नेतृत्व हाल रिक्त रहेका छन् ।