आज उपराष्ट्रपति पदका लागि हुने निर्वाचनमा चार जना उमेदवार छन् । नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव उमेदवार छन् ।
जनता समाजवादी पार्टीका उमेदवार रामसहायप्रसाद यादव नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदको समर्थन र प्रस्तावमा उमेदवार भएका हुन् ।
जनमत पार्टीका झालाई भने लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन गरेको छ।
जसपाकै अर्की उमेदवार प्रमिलाकुमारी उमेदवार नरहेको उक्त दलले जनाए पनि निर्वाचन अधिकृतको कार्यालयको समयसीमाभित्र उमेदवारी फिर्ता नलिएकोले मतपत्रमा उनको नामसमेत राखिएको छ । प्रमिला कुमारीले आफ्नो उमेदवारी निष्क्रिय भएको घोषणा गरिसकेकी छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपराष्ट्रपतिको निर्वाचनका लागि ९८० थान मतपत्र छापिएको जानकारी दिए। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसदका दुवै सदनका सदस्य र प्रदेश सभाका सदस्य रहने निर्वाचक मण्डलले मतदान गर्ने कानुनी व्यवस्था छ। सो व्यवस्थाबमोजिम ८८२ सदस्य मतदान गर्न योग्य छन्।
सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले संघीय संसदका सदस्यले मतदान गर्ने केन्द्रका लागि कृष्णशरण लामिछाने र प्रदेश सभा सदस्यले मतदान गर्ने केन्द्रका लागि मन्दिरा शाहीलाई मतदान अधिकृत नियुक्त गरिएको जानकारी दिए।
आयोगले सार्वजनिक गरेको नमुना मतपत्रबमो संघीय संसदका सदस्यका लागि सेतो पृष्ठभूमिमा रातो अक्षरले लेखिएको मतपत्र छापिएका छन्। प्रदेश सभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो अक्षरले लेखिएको मतपत्र छापिएको प्रवक्ता पौडेलले जानकारी दिए।
मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)बाट उमेदवारी दिएकी शाक्य, दोस्रो क्रममा जसपाबाट उमेदवारी दर्ता गराएकी प्रमिलाकुमारी, तेस्रोमा जनमत पार्टीका ममता झा र चौथोमा जसपाकै रामसहायप्रसाद यादवको नाम उल्लेख छ।