वाणिज्य, विकास बैङ्क तथा फाइनान्स कम्पनीले घटाएको ब्याजदर आज देखी लागु भएको छ ।
वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरे अनुसार बुधवारबाट लागु भएको हो ।
चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भए अनुसार ब्याजदर घटाइएको सङ्घका अध्यक्ष सुनिल केसीले बताए । ‘सबै संस्थाको निर्णय अनुसार चैत १ गते देखी लागु हुने गरी ब्याजदर घटेको छ’ उनले भने ।
जसअनुसार बैङ्कहरूले कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकामा अब एक प्रतिशत घटेर आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर कायम भएको छ । यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् भने यसअघि साधारण बचतमा न्यूनतम ६ ४२ देखि अधिकतम ८४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो भने मुद्दती निक्षेपको ब्याजदर भने स्थिर छ, हालसम्म बैङ्कहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन्।
संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिटेन्स’ मुद्दती खातामा १२ प्रतिशत नयाँ ब्याजदर तोकिएको छ ।
यसै गरी विकास बैङ्कहरूले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ भने एक वर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरेको छ।
यसै गरी, चैतमा एक वर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा ९.६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.१० प्रतिशतदेखि आठ दशमलव ६० प्रतिशत ब्याजदर दिनेछन् ।
उता, नेपाल वित्तीय संस्था सङ्घ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ।
सङ्घले तीन महिना माथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरे अनुसार चैत १ गते देखी लागु हुने गरी ब्याजदर घटाएको हो ।
फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम भएको छ ।