एसिया प्यासिफिक एडभान्स नेटवर्कको (एपान) को ५५औँ अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन फाल्गुण २९ देखि चैत्र ३ गतेसम्म काठमाडौँ मेरियट होटेलमा आयोजना हुन गइरहेको राजधानीमा पत्रकार सम्मेलन गरी जनाइएको छ ।
एपान ५५ मूल समितिका संयोजक लोचनलाल अमात्यले सम्मेलन आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्बन्धी संस्थाहरू नेपाल रिसर्च एण्ड एजुकेसन नेटवकले गर्ने जनाए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले कार्यक्रम गर्न लागेको उनले जनाए । विश्वभर फैलिएको कोभिड महामारीपछि पहिलो पटक भौतिक रूपमा आयोजना हुन लागेको पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना हुन लागेको उनले जनाए ।
सम्मेलनको अवधिभर ५५ वटा भन्दा बढी सेसनहरू सञ्चालन हुने जनाइयो । साथै १७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धानलगायतका विभिन्न क्षेत्रहरूमा केन्द्रित रही प्रस्तुति दिने छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा दुई जना नेपालीसहित ४ जना व्यक्तिहरूले मुख्य वक्ता (कि स्पिकर) को रूपमा सम्मेलनलाई सम्बोधन गर्ने छन् ।
सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरू जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनिकीकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्याङ्कहरूमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरूमा केन्द्रित रही सहभागीबिच छलफल हुने जनाइएको छ । साथै नेपालको तर्फबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको न्यूनीकरणको लागि सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानको भूमिका सम्बन्धमा जलवायु परिवर्तन विज्ञ तथा नेपाली पर्वतारोही समेतको प्रस्तुति रहने कार्यक्रम तय भएको छ ।
२५ देशका १८० प्रतिनिधिहरू तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधिसँग सम्बन्धित संस्थाहरूबाट १५० गरी ३३० भन्दा बढी प्रतिनिधिहरू सम्मेलन स्थल काठमाडौँ मेरियटमा सहभागी हुने साथै २०० भन्दा बढी व्यक्तिहरू अनलाइनका माध्यमबाट पाँच दिनसम्म सञ्चालन हुने एपानको ५५ औँ सम्मेलनमा सरिक हुने आसा गरिएको छ ।
नेपालमा पहिलो पटक हुन लागेको यस सम्मेलनले नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग पर्याउने देखिन्छ । सम्मेलनले देशमा वैज्ञानिक अनुसन्धान र यस सम्बन्धी पुर्वाधारहरुको आवश्यकताका साथै राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउने अपेक्षा गरिएको छ । योसँगै नेपाल सरकारले सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा गरिरहेका प्रयास विश्वमाझ पुर्याउने अवसर समेत यस सम्मेलनले जुटाउने देखिन्छ । साथै विभिन्न देशका प्रतिनिधि सँगको आपसी अन्तरक्रियाले नेपाली अनुसन्धानकर्ता तथा शैक्षिक संस्थाहरूले हाल विश्व समुदायसँग गरिरहेका वैज्ञानिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलनको आयोजनको लागि विभिन्न संघ संस्थाहरुको सहयोग गर्नुहुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस सम्मेलन आयोजनाको सहकार्य भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकमलगायतका संस्थाहरूले सम्मेलनको लागि प्रायोजन गर्ने भएका छन् । सम्मेलनको लागि आवश्यक इन्टरनेट ब्यान्डविथ वर्ल्ड लिङ्क कम्युनिकेसन तथा सुविसु केबुलनेटले उपलब्ध गराउने भएका छन् ।
एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सहकार्यमा स्थापित एसिया प्यासिफिक एडभान्स नेटवर्कले सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरूमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको छ । यसले विगत २५ वर्षदेखि एसिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयहरू सँगको सहकार्यमा हरेक वर्ष दुई वटा अन्तर्राष्ट्रिय सम्मेलन एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरूमा आयोजना गर्दै आएको छ ।