डोटीको तलारा तथा बैतडीको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजना निर्माण अध्ययन गर्न सरकारी टोली डोटी पुगेको छ । टोलीले पश्चिम सेती परियोजनाको विद्युतगृह निर्माण गरिने शिखर नगरपालिका तल्कोट क्षेत्रको अनुगमन गरेको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले बताइन् । उनले भनिन्, “पश्चिम सेती परियोजना निर्माण अध्ययन गर्न तीन सदस्यीय टोली आएको छ, टोलीले विद्युतगृह बन्ने ठाउँको अवलोकन गरेको छ, अब बाँधस्थलको अवलोकन गर्ने छ ।”
टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, ऊर्जा सचिव देवेन्द्र कार्कीसहित प्राविधिकहरू संलग्न छन् । टोलीले बाँधस्थल तराला र ढुङ्गाड क्षेत्रमा पुगेर अनुगमन तथा अध्ययन गर्ने बताइएको छ ।
सुदूरपश्चिम प्रदेशकै गौरवको आयोजना मानिएको पश्चिम सेती परियोजनाको निर्माण अझै सुरु हुनसकेको छैन । चर्चामा आएको लामो समय हुँदा पनि पश्चिम सेती निर्माणको काम अघि नबढेकोमा स्थानीयको गुनासो बढ्दै गएको छ । दिपायल सिलगढी नगरपालिका–१ का विजय खड्का भन्छन्, “अध्यन गर्ने थलो मात्रै हुँदैछ पश्चिम सेती, निर्माण कहिले हुन्छ ठेगान छैन, फेरि अध्यन टोली आएको छ हेरौँ, केके हुन्छ ।”
विगत ४० वर्षदेखि चर्चामै सीमित रहेको भन्दै अब यो आयोजना निर्माण हुन्छ भन्ने पत्यार लाग्नै छोडिसकेको प्रतिक्रिया शिखर नगरपालिका–११ बानीडुग्रीसैनका प्रेमबहादुर बलायरले दिए ।
सन् १९८१ देखि सो परियोजनाबारे चर्चा भएको हो । त्यतिबेला फ्रान्सेली संस्था सोग्रेहको र १९९४ मा नेपाल सरकारको विद्युत् विकास केन्द्र र अष्ट्रेलियन बहुराष्ट्रिय कम्पनी स्मेकबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सन् १९९७ मा नेपाल सरकार र वेस्ट सेती हाइड्रोबीच ७५० मेगावाट आयोजना निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।
परियोजना लागू हुने स्थान तथा बाँध बाँधिने ठाउँमा भवन निर्माणदेखि अन्य केही काम भएको पनि हो । तर परियोजनास्थलको पटक–पटक भौगर्भिक अध्ययन भए पनि सार्थकरूपमा काम भने हुन सकेको छैन । (रासस)