कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव सुरु भएको छ । आउँदो दशैंसम्म कर्णालीका मुगु र डोल्पामा खाद्यान्न अभाव हुने देखिएको छ । मुगुमा भएका खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका सबै डिपो कार्यालय तथा विक्री केन्द्रहरु रित्तिएका छन् । उक्त कम्पनीको शाखा कार्यालय गमगढी बजारमा पनि खाद्यान्न निकै कम मात्र बाँकी छ ।
मुगुका पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपोकेन्द्र राता पानी बिक्री केन्द्र र कालै बिक्री केन्द्र गरि ५ वटा डिपो तथा विक्री केन्द्र असार महिनादेखि नै रित्तै छन् । डिपो केन्द्रहरुमा ठेक्का प्रक्रियाको लागि टेण्डर प्रक्रिया भइरहेको र अन्तिम चरणमा पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले जानकारी दिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका सूचना अधिकारी पुस्कर भामका अनुसार शाखा कार्यालय गमगढी बजारमा अहिले ६ सय क्विन्टल चामल मौज्दात छ । जसमा ३ सय क्विन्टल मोटा र ३ सय क्विन्टल जापानी चामल रहेको छ ।
चामल अहिले नै वितरण गर्दा दुई दिनमै शाखा कार्यालय रित्तिने हुँदा खाद्य सुरक्षा समितिको निर्णयअनुसार मुगुमा सहुलियत मुल्यको चामल अहिले नै वितरण नगरेर १५-२० असोजमा वितरण गरिने उनले जानकारी दिए ।
डोल्पामा पनि खाद्यान्न अभाव
यस्तै डोल्पाका पनि ग्रामीण बस्तीमा खाद्यान्न अभाव हुन थालेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डोल्पा शाखा र डिपोहरुमा खाद्यान्नको मौज्दात कम भएपछि ग्रामीण बस्तीमा खाद्यान्नको संकट देखिएको हो ।
वर्षाले बाटोघाटो सहज नहुँदा बजारमा विक्री गरिने खाद्यान्नको मूल्य महँगिएको बेला सहुलियत दरमा बिक्री हुने खाद्यान्न नभएपछि ग्रामीण बस्तीका सर्वसाधारण मर्कामा छन् । गत आर्थिक वर्ष डोल्पाका लागि १८ हजार क्विन्टल चामल विनियोजन भई बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
कम्पनीका डोल्पास्थित प्रमुख कमलराज पाण्डेकाअनुसार अहिले दुनै शाखामा २५० क्विन्टल र जुफाल गोदाममा २०९ क्विन्टल चामल मात्र मौज्दात छ । मौज्दात चामल ग्रामीण बस्तीका विपन्न परिवार र बाढीपहिरोबाट विस्थापित हुनेहरूलाई आपतकालीन अवस्थामा वितरण गर्नका लागि राखिएको प्रमुख पाण्डेले जानकारी दिए ।
नेपाल सरकारले गत वर्ष माथिल्लो डोल्पाका लागि १ हजार ५०० क्विन्टल, तल्लो डोल्पाका सर्मी डिपोका लागि ३०० क्विन्टल, काइगाउँ डिपोको लागि १ हजार क्विन्टल, दुनै शाखाका लागि ९ हजार क्विन्टल र जुफाल गोदाको लागि ४ हजार ५०० क्विन्टल गरेर १८ हजार क्विन्टल चामल छुट्याएको थियो ।
कर्णाली प्रदेशका मुगु, डोल्पा र हुम्ला जिल्लामा नेपाल सरकारले खाद्यान्न र नुन ढुवानी अनुदानमा उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षको चामल बिक्री भई न्यून मात्र मौज्दात रहेको र नयाँ आर्थिक वर्षको चामल जिल्लामा आपूर्ति भइ नसकेकाले खाद्यान्न अभावको स्थिति आएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।