पोखरा-४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिका वडा नं. ३ मा रहेको पाउँदुर आधारभूत विद्यालयलाई त्यहाँका विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर राखी एक थान युरोगार्ड हस्तान्तरण गरेको छ । त्यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले धाराबाट सिधै बोतलमा पानी थापी पिउने गरेका विद्यार्थीहरुले अब भने धाराको पानीलाई प्रशोधन पश्चात् मात्र पिउने भएका छन् । वर्षायाममा मूलबाट आउने पानी धमिलै अवस्थामा पनि पिउनु परेको र त्यसले विद्यार्थीहरुमा विभिन्न खाले रोगहरुले ग्रसित हुने गरेकोमा अब भने कुनै चिन्ता नहुनेमा विद्यालयकी प्रधानाध्यापक बसन्ती देवकोटा विश्वस्त रहिन् ।
नेलम्बो नेपालले ७३ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा उक्त विद्यालयलाई युरोगार्ड हस्तान्तरण गरेको हो । उक्त युरोगार्ड हस्तान्तरण नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद के.सी., उपाध्यक्ष चन्द्रकला देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ग'रुङ्ग र विद्यालयका प्रधानाध्यापक वसन्ती देवकोटालाई सामूहिक रुपमा हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर के.सी. ले नेलम्बो नेपालले विगतमा यस पालिकालाई गरेको सहयोग उच्च प्रशंसनीय रहेको र भविष्यमा शिक्षा र स्वास्थ्य क्षेत्रमा गाउँपालिकाभित्र धेरै नै कार्यहरु गर्नु पर्ने भएको हुँदा नेलम्बो नेपालसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसै गरी गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटाले नेलम्बो नेपालले एक पटकको सहयोगको आग्रहमा यति छिट्टै उपलब्ध गराएकोमा नेलम्बो नेपाललाई धन्यवाद व्यक्त गरिन् ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भूगाइँले नेलम्बो नेपालले विगतका वर्षहरुमा उल्लेखनीय कार्य गरेको स्मरण गर्दै आगामी दिनमा पनि शिक्षा र स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्न पालिका सधै तयार रहेको जनाए ।
त्यसै गरी सहयोगी संस्थाका अध्यक्ष एक देव देवकोटाले नेलम्बो नेपालले स्थापना कालको केही समयको अन्तरालसँगै उक्त पालिकामा कार्यहरु गर्दै आईरहेको पनि बताए । उनले वृहत निशुल्क स्वास्थ्य शिविर, कोभिड १९ को विषम परिस्थितिमा अन्नपूर्ण गाउँपालिकाको घर दैलोमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुगेको, विद्यालयहरुलाई पढाइ सञ्चालनको लागि आवश्यक पर्ने मास्क, सेनिटाइजर, थर्मल गन, स्वास्थ्य संघसंस्थाहरुलाई कोभिड १९ को लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु उलब्ध गराउँदै विद्यालयहरुमा निशुल्क दन्त शिविर, शुद्ध खाने पानीका लागि आवश्यक पर्ने युरोगार्ड लगाएत कार्यक्रमहरु सञ्चालन गरेको पनि उल्लेख गरे । भविष्यमा आवश्यकता र संस्थाको दक्षताका आधारमा अन्य थप सहयोगका कार्यक्रमहरु पनि सञ्चालन गर्ने उनले बताए ।
त्यसै गरी उक्त कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष फडिन्द्र पौडेल, ढिकुरपोखरी-पोखरा सम्पर्क समाजका सहसचिव गणेश प्रसाद अधिकारी लगायतले संस्थाले गरेको सहयोगका बारेमा चर्चा गरेका थिए । हस्तान्तरण गरिएको युरोगार्डको विवरण नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले प्रस्तुत गरेका थिए । उक्त युरोगार्डले प्रति घण्टा ५० लिटर भन्दा बढी पानी शुद्धीकरण गर्न सक्ने उनले अवगत गराए ।