फागुन १ गते गोंगबु बसपार्कको लोत्से मल तोडफोड, चोरी तथा प्रहरीको गाडी आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेकाहरूको संख्या २५ पुगेको छ । मजदुर आन्दोलनको नाममा प्रहरीको गाडी, प्रहरी पोष्टमा आगजनी र लोत्से मलमा तोडफोड गर्ने १५ जनालाई पक्राउ गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो । अपराधमा संलग्न भिडियो हेर्दै उनीहरूलाई प्रहरीले खोजेर फेला पारेको हो ।राजधानीमै दङ्गा र लुटपाट हुँदा सरकारको सुरक्षा क्षमतामा चौतर्फी दवाव परेपछि प्रहरीलाई विशेष निर्देशन दिएर सरकारले व्यापक खोजतलास अघि बढाएको हो ।
भिडियोको आधारमा पक्राउ पर्ने गरिएकाहरूमा काभ्रेका १९ वर्षीय सुरज मगर, उदयपुरका ३० वर्षीय रितेश बस्नेत, मोरङका ३० वर्षीय यमन राई, नुवाकोटका १८ वर्षीय सुनिल कालीकोटे, २२ वर्षीय रोमन नगरकोटी, १८ वर्षीय सुदीप तामाङ, ३३ वर्षीय माधव शाही र १९ वर्षीय केशर राई रहेका छन् । सिन्धुलीका १८ वर्षीय इन्द्र तामाङ, धादिङ २६ वर्षीय इलाराज गुरुङ, उदयपुरका २७ वर्षीय राजन राउत, काभ्रेका २८ वर्षीय हरिशरण तामाङ, धादिङका १८ वर्षीय विकाश गुरुङ, चितवनका २७ वर्षीय संविधान परियार र काठमाडौँका १९ वर्षीय कविन खड्गी रहेका छन् ।
आगजनी तथा तोडफोड गर्नेमा विद्यार्थी, ड्राईभर, सहचालक रहेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । पक्राउ परेकाहरूविरुद्ध चोरी तथा डाँका लगाइँदैछ । यसअघि बुधबार मात्रै प्रहरीले १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । केही पटके अपराधी पनि उक्त दिनको अपराधमा संलग्न पाइएको प्रहरीले बताएको छ ।