मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुने भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहमाथि प्रहरीले कुटपिट गरेको विरोधमा चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ । गणतन्त्रमा भीआइपी सवारीको नाममा जनतालाई सास्ती दिनु आफैंमा बेठिक काम भएको चर्चा गर्दै संघले डाक्टर श्रेष्ठ कुटिएको विरोधमा माघ २९ गते आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा नदिने घोषणा गरेका छ ।
संघको शनिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार साँझ अस्पतालबाट घर फर्किने क्रममा चिकित्सक सिंहमाथि प्रहरीले कुटपिट गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गरेर फर्कने क्रममा बाटो खाली गराउँदा विवाद भएपछि प्रहरीले डा सिंहमाथि लाठी चार्ज गरेको थियो । उनको टाउको र हातमा चोट लागेको छ।
संघले कुटपिट गर्ने प्रहरीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ अनुसार कारबाही गर्नसमेत माग गरेको छ । नेपाल प्रहरीले भने डा सिंहमाथि आक्रमण गर्ने वरिष्ठ हवल्दार शम्भु गुरुङलाइ निलम्बन गरिसकेको बताएर विरोध साम्य बनाउने प्रयास गरेको छ ।
आज दिउसो माइतीघरमा समेत सोही कुटपिटको विरोधमा जुलुस निकालिएको थियो । राष्ट्रपतिको सवारीका लागि बाटो रोकेर जनतालाई सास्ती दिँदै डाक्टर कुटेको विरोधमा अस्पतालको सेवा बन्द गर्दा जनताले फेरि अर्को सास्ती भोग्नु पर्ने भएको छ ।