बाबुआमाबीचको सम्बन्ध बिग्रिँदा त्यसको मार बालबालिकामा पर्ने र तिनको दुरुपयोग तथा हत्या समेत हुन सक्ने जोखिम बढेको तथ्य बढ्दै गएका छन् । बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धारपछि नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणबाट पारिवारिक बेमेल र सम्बन्धको खटपटले मानव तस्करहरूलाई सजिलो भएको घटना खुल्न आएको हो ।
माघ २२ गते पूर्णिमाको दिन बालिकालाई बलि चढाइँदै थियो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट उद्धार गरिएकी बालिकालाई बलिको लागि तयारी अवस्थामा पुर्याउनुको कारणको जरो उनका बाबुआमाबीचको बेमेल थियो । उनीहरुको बमेलकै कारण उनी मामाघरमा बस्दै आएकी थिइन् । मामाघरबाटै उनलाई फकाएर काठमाडौं ल्याइएको थियो । बाबुआमाको झगडाले मानसिक असर परिरहेको र आफ्नो घर छोडेर मामाघरमा उदास बनेर बस्नु परेको अवस्थामा तस्करहरूले पैसा कमाएर धनी बन्न सकिने भन्दै उनलाई बन्धक बनाउन सफल भएको देखिएको छ । बालिकाको अवस्था थाहा पाएका नजिककी साथी र महिला मिलेर उनलाई फकाएर काठमाडौं ल्याएका थिए । बलि दिनको लागि बालिका खोज्दै हिँड्ने गिरोहले सोही किसिमले उदास बनेका वा बरालिएकाहरू खोज्ने गरेको पाइएको छ ।
ब्यूरोले पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो । “बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भए/नभएको परीक्षण गरिएको रहेछ”, ब्युरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भने । उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो । साठी केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ । अभियुक्तहरु छ जना छन् जो अहिले हिरासतमा लिइएका छन् ।
उनले थप जानकारी दिँदै भने- “प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ ।” निर्देशक श्रेष्ठले बालिका भने यसबारे जानकार नभएको बताए । उनले भने, “हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौं । दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो ।” पीडित बालिका मङ्सिर १७ गते मामाघरबाट काठमाडौँ ल्याइएको थियो ।
पुस १९ सम्म काठमाडौँमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्याइएको प्रहरीको भनाइ छ । भारत पु¥याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो । प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ । पछिल्ला पाँच वर्षमा ३० जना बालिकालाई बेचबिखन तथा ओसारपसार हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ । बेचबिखन तथा ओसारपसार हुनबाट बालिका, महिला, बालक र पुरुष गरी चार सय ४३ जनाको उद्धार गरिएको छ ।