कास्कीको सिक्लेस गाउँका सुरजकुमार गुरुङ जसलाई मास्टर सूर्जे भनेर पनि चिनिन्थ्यो । सिक्लेसमै जन्मेका भएपनि उनले प्रारम्भिक शिक्षा भारतमा पाएका थिए भने पृथ्वीनारायण क्याम्पस पोखराबाट अंग्रेजीमा स्नातक गरेका थिए । पढाउने व्यक्तिलाई स्थानीय बोलिचालीमा मास्टर भन्ने चलन छ जसका कारण उनलाई मास्टर सूर्जे भनिन्थ्यो । अफशोच¸ ७१ वर्षीय मास्टर सूर्जेको आफ्नै घर आगलागी हुँदा अपूरणीय अवसान कसैले नसोचेको तरिकाले २०७९ पुस १७ गते हुन पुग्यो ।
गाउँलेहरुका लागि उनी समुदायको आँखा र कान थिए; अन्तर्राष्ट्रिय आगन्तुकहरुका लागि सम्मानित दूत अनि उत्तम दोभाषे¸ साथै असल शिक्षक र साथी थिए जो प्रकृति र संस्कृतिको ज्ञान बाँड्न सदा तत्पर रहन्थे ।
(सिक्लेस गाउँको पृष्ठभूमि पार्दै खिचेको फोटोमा सुरज गुरुङ अगाडिबाट दोस्रो, सेतो पाइण्टमा)
उनले आफ्नो जीवनको ३६ वर्ष शिक्षण पेशामा समर्पण गरेपछि २०६८ सालमा अवकास पाएका थिए । अवकास जीवनका बीचमा उनी समाजसेवा र उद्यमशीलतमा व्यस्त भैरहेका बेला २०७२ सालमा जारी भएको संविधान अनुसार उनको गाउँ समेत समेटेर मादी गाउँपालिका स्थापना भयो । सोही मादी गाउँपालिकाको वडा नम्बर १ मा उनी २०७४ सालको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
कुशल शिक्षक र प्रधानाध्यापक त उनी थिएथिए, उनी यस्ता उद्यमी थिए जसले सिक्लेसको मध्यभागमा पसल खोले, नमूना तर्कारी खेती शुरु गरे, धान कुट्ने मिल सञ्चालन गरे, कुखुरापालन फार्म खोले अनि सडकको अभावमा खच्चडले सरसामान बोकाएर ओसार्ने व्यवस्था मिलाए । त्यस्तो उद्यमशील मान्छेलाई राजनीति गर्नु उति रुचिको विषय हुने कुरै थिएन । तर परिस्थिति यस्तो भैदियो कि उनको गाउँ उनीजस्तै अनुभवी, शिक्षित र समर्पित व्यक्तिको खोजीमा थियो । समुदाय र जनताको न्याय र दिगोपनको लागि हुटहुटी बोकिरहन सक्ने उपयुक्त पात्र सुरज नै थिए अर्थात् मास्टर सूर्जे ।
ग्रामीणसुलभ प्रेमिल परिचय 'मास्टर सूर्जे ' भएपनि उनको औपचारिक परिचय 'सुरज सर' थियो । विदेशबाट कोही आयो कि सबैले सुरज सरलाई भेटाउन लगिहाल्थे । सन् १९९२ मा सेरा पार्करले सिंगापुरबाट स्वयंसेवी विद्यार्थी लिएर जाँदा 'सुरज सर' अन्नपूर्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक थिए । त्यतिबेला स्थानीय शिक्षकमा केवल दुई जना रहेका थिए र तीमध्ये उनी एक थिए जसलाई उनका विद्यार्थीले आफ्नो आदर्श गुरू मानेका थिए अनि उनी जस्तै शिक्षक बन्ने लक्ष्य प्रकट गर्थे र उनले पढाएका विद्यार्थी नै शिक्षक बन्न समेत सफल भएका थिए । वर्ष बित्दै जाँदा सिंगापुर र अन्यत्र पनि सञ्चालित युनाइटेड वर्ड कलेज अफ साउथ इष्ट एसिया (युडब्लुसीएसइए)का कैयौं स्वयंसेवीहरुलाई उनले स्वागत गरे, पढाउन दिए, सहयोग गरे ।
(सेरा र आन्जीलाई स्वागत गर्दै सुरज गुरुङ र शिक्षकहरु सन् २००७ मा)
उनी परम्परागत ज्ञान र वातावरणीय मुद्दाहरुलाई औपचारिक र अनौपचारिक दुवै किसिमले समेटेर लानु पर्छ भन्ने व्यक्ति थिए । त्यसैका लागि नै अन्तरराष्ट्रिय रुपमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रसिद्ध बन्यो ।
(अनौपचारिक शिक्षा र गाउँको सरसफाइका लागि आमा समूहसँग छलफलमा सुरज गुरुङ)
सुरज एक कुशल शिक्षकका साथै एक्यापले गठन गरेको स्थानीय संरक्षण समितिमा १६ वर्षसम्म सदस्य रहेर सेवा गरे । प्रकृति संरक्षणतर्फको उत्कट लगाव र संरक्षण शिक्षकको उनको भूमिकाले पूरै गाउँलाई स्वच्छ, सफा र हरियाली बनाउन मद्दत गर्यो । एक्याप अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति पार्चेले सन् २०१४ मा प्रतिष्ठित पुरस्कार 'युएनडीपी इक्वेटर इनिसिएटिभ प्राइज' जित्नुमा सुरज जस्तै आफ्नो सम्पूर्ण समय र जीवन जन्मभूमि सिक्लेसका लागि समर्पण गर्नेहरुकै योगदानको प्रतिफल हो ।
(परम्परागत वन व्यवस्थापनको चलन सम्बन्धी छलफलमा सुरज गुरुङ, बीचमा)
उनले सिक्लेस पुगेका थुप्रै आगन्तुकलाई सहयोग गरे र आफ्नो ज्ञान र अनुभव सुनाउन सधैं नै फुर्सद निकाले । पच्चीस वर्षअघि नर्वेबाट सिक्लेस भ्रमणमा पुगेका स्नातकोत्तर तहका विद्यार्थी गुनहिल्ड फ्लामोले सुरजलाई सम्झिँदै भने- 'एक दोभाषेको रुपमा तिम्रो महान सहयोगकै कारण मैले वातावरणीय ज्ञान सम्बन्धी शोधपत्र लेख्नका लागि सिक्लेसका जनतासँग कुराकानी गरेर प्रशस्त सूचना संकलन गर्न सकेँ ।'
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लालीगुराँस कोष स्थापना गर्न सुरजले नर्वेली गुनहिल्डलाई सहयोग गरेका थिए । उनको प्रकृतिप्रतिको माया र सिक्लेसका बालबालिकाको शिक्षाको निरन्तरताको लागि वर्षौंदेखि गरेको योगदानका कारण नेपालको राष्ट्रिय फूल लालीगुरासको नामबाट कोषको नामकरण गरिएको थियो । गुनहिल्ड उनलाई सम्झिन्छन्- “लालीगुराँस कोष स्थापनासँगै त्यसको निरन्तरताका लागि हामीले सहकार्य गर्यौं । सिक्लेसको समुदायले मप्रति देखाएको उदारताको कदरस्वरुप मैले केही सहयोग गर्न चाहेको थिएँ । त्यसमा तिम्रो सहयोग नभैदिएको भए कोष स्थापना हुन सक्दैनथ्यो भने नर्वेका सहयोगीहरुबाट संकलित रकम वर्षौंसम्म वितरण गर्न पनि सक्ने थिएनौं ।" उक्त सहयोग कोषबाट हालसम्म ३ सय जनाभन्दा बढी विद्यार्थी लाभान्वित भैसकेका छन् भने उक्त अक्षयकोषमा ११ लाख रूपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ ।
(नर्वेका सहयोगीहरूलाई बालबालिकाले प्रत्युत्तर पोष्टकार्ड पठाउने तयारीका बेला सन् १९९५ मा सेरासँग स्वर्गीय सुरज)
(लालीगुराँस कोष छात्रवृत्ति पाएका विद्यार्थी र सहकर्मी शिक्षकहरुका बीचमा माला लगाएर उभिएका सुरज सर)
सिक्लेसमा घुलमिल हुन तथा जटिल सामाजिक मुद्दा एवं गाउँ र विद्यालयका चुनौतीहरुको समाधानका उपाय अवगत गराउन पनि सुरज सरको भूमिका प्रशंसनीय थियो । उनले प्रधानाध्यापकबाट अवकास पाइसकेपछि पनि सिक्लेसको ज्ञान र प्रेम बाँड्न कैयौं दिन र रात बिताएर भएपनि सहयोग गरेको प्रतिक्रिया धेरै स्वयंसेवकहरूले व्यक्त गरेका छन् । विद्यालय, महिला समूह र गाउँप्रति उनको प्रतिबद्धता र सहयोग सोचेभन्दा निकै नै बढी थियो ।
सुरज सरको निधनबाट सिक्लेसको समुदाय गहिरो दुखमा परेको समाचार आउनासाथ फेसबुकमा उनीप्रति श्रद्धाञ्जलीको ओइरो लागेको छ । त्यसक्रममा उनलाई प्रेरक¸ स्थानीय नेता¸ वास्तवमै भद्र¸सामाजिक कार्यकर्ता र प्रसिद्ध भनेर चित्रित गरिएको छ । उनको प्रभाव स्थानीय समुदाय र त्यहाँभन्दा धेरै परसम्म परेको प्रमाण फेसबुकमा प्रकट श्रद्धाञ्जलीका वाक्यहरु हुन् । जस्तै-
"सिक्लेसको समुदायका लागि उनको उत्कट भाव¸ भविष्यपरक दृष्टिकोण र कडा परिश्रमबाट मलाई छाप परेको कुरा म यहाँ स्मरण गर्दछु" । -एरियाना ।
“मेरो स्नातक तहको शोधग्रन्थका लागि अनुसन्धान गर्ने क्रममा उनी प्रेरणा थिए¸ अति दयालु थिए अनि अति सहयोगी थिए¸ साथै उनमा तेजिलो हास्यचेत पनि थियो ।” -जुजाना ।
“सिक्लेस र विस्तारित समुदायले नै अहिले यस्तो क्षति अनुभव गरिरहेको छ कि भन्नै सकिन्न ।
यस्तो उदारता र अग्रसरताले भरिएको उत्सुक मन । उनीसँग कुरा गर्दा सदा यति आनन्द लाग्थ्यो कि मैले खोजेको भन्दा बढी उनले दिएको मैले पाउँथेँ ।'' -पाउल
“कस्तो ठूलो खति । म उनीबिनाको गाउँ सोच्न पनि सक्दिनँ । उनी समुदायको विश्वासिलो चेत भएको खम्बा थिए । उनले वास्तवमै यसलाई धेरै तरिकाले जगाएर राखेका थिए ।” -एलिन
“उनी अद्भूत र प्रेरणादायक व्यक्ति थिए ।” -पाउला
कास्कीलाई कार्यक्षेत्र बनाएर काम गरेको संस्था ग्लोबल एक्शन नेपालका बीके श्रेष्ठले लेखेका छन्- “उनी बालबालिकाका मात्र नभै समग्र सिक्लेस समुदायकै शिक्षक थिए । व्यक्तिगत रुपमा मैले सिक्लेसमा बस्दा र बारम्बार ओहोरदोहोर गर्दा उनलाई सधैं आफ्नो समय र विचारप्रति उदार पाएँ I”
यो शोकाप्ति लेख्दै गर्दा हामी दुई हुम र सेराले यति चुनौतीपूर्ण र भावुक अनुभव गर्यौं कि धेरै योगदान गर्न बाँकी छँदै अचानक बितेका सुरजबिनाको सिक्लेस कस्तो होला ! सेरा आफ्नो भनाइ यसरी राख्छिन्- “जबजब म सिक्लेस पुग्थेँ र गाउँको हालचाल बुझ्न खोज्थेँ, सुरज ठट्यौलो हुँदै तुरुन्तै भेटिन्थे । मेरा नोटबुकहरू उनीसँग वर्षौसम्म गरेका कुराकानीले भरिएका छन् । युवाहरु गाउँबाट पलायन भैरहेकोमा उनको सदैव चासो थियो । पछिल्ला वर्षमा आफूले राजनीतिक भूमिका बहन गर्न पाएकोमा सुरजले ठूलो गौरव महसुस गर्थे । उनी औपचारिक शिक्षाको मात्रै होइन अनौपचारिक शिक्षाको लागि समेत सक्रिय थिए । मैले पीएचडी गर्ने क्रममा साक्षरता कक्षा बारे सिक्लेसमा चलाएको सामूहिक छलफलमा समेत उनले गहिरो चासो राखेर सहभागी भएका थिए । सन् २००० को दशकमा मसँगै काम गरेका लक्ष्मी र किरणले उनीबारे के भने भने “सिक्लेसका महिला साक्षरता कक्षामा हामीलाई लैजान सधैं तयार रहने उनको साथ नभएको भए यो काम सम्पन्न हुन सक्ने थिएन ।''
हुम गुरुङको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँच र एसिया-प्रसान्त क्षेत्र तथा त्यसभन्दा बाहिरको प्रकृति संरक्षण सम्बन्धी कार्यले सिक्लेसलाई बाहिरी संसारको नजिक ल्याएको छ । सुरज जस्ता व्यक्तिहरू र स्थानीय समुदायसँग मिलेर सिक्लेसलाई नमूना दिगो सम्पदा गाउँ बनाउन धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पर्कहरू विकास गरिएका छन् । यस प्रयासमा सुरजले खेलेको भूमिकालाई झल्काउँदै उनी भन्छन्, “सुरज सर साँच्चिकै सिक्लेसलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय आगन्तुकहरूसँग सहजै जोड्ने ‘सेतु’ हुनुहुन्थ्यो । उहाँले आफ्नो समय यति राम्रोसँग व्यवस्थापन गर्नुहुन्थ्यो कि सबै ठाउँमा उहाँ हास्य र नम्रता सहितको महान भावना लिएर उपस्थित भैदिनुहुन्थ्यो ।"
(चन्द्र गुरुङ कन्जर्भेशन फाउण्डेशनमार्फत् आउने शिक्षार्थीको सिक्लेस भ्रमणबारे २०७९ मंसिर १ गते सुरज गुरुङसँग छलफल गर्दै हुम गुरुङ (दायाँ) । यो नै उनको अन्तिम भेट हुन पुग्यो )
शिक्षामा सुरजको जीवनभरको लगानीले जनतामा क्रमश: विश्वास र सञ्जाल स्थापना गरेको छ । गाउँ छोडेर गएका सिक्लेसका धेरै व्यक्तिहरूले उनको विरासतलाई निरन्तरता दिन समुदायको विकासका लागि निरन्तर काम गरिरहेका छन् । सुरजलाई पनि विदेशिने अवसर थियो तर नेपालमा बसेर उनले धेरै मानिसलाई प्रेरित गरेका थिए र अब त्यो ठाउँलाई भने शून्य छोडेर उनी गए ।
उनले धेरै विद्यार्थीहरूलाई पढाए र प्रेरित गरे तथा तिनीहरूलाई शिक्षणलाई पेशाको रूपमा लिन र सिक्लेसका विद्यालयहरूमा आफूलाई समर्पित गर्न प्रेरित गरे । सिक्लेसका सहायक प्रधानाध्यापक गेहेन्द्र गुरुङले आफ्नो भावपूर्ण श्रद्धाञ्जलीमा सुरज सर "सबैको अभिभावक" भएको टिप्पणी गरे र "गाउँमा शैक्षिक बौद्धिक योगदान र गाउँपालिका एवं समाजसेवा तथा राष्ट्रसेवामा उहाँले पुर्याएको योगदान सुनौलो रहनेछ" भनी लेखेका छन् ।
सुरज एक श्रीमान्, पिता, साथी, शिक्षक, व्यापारी, राजनीतिक नेता, बुद्धिमान् र एक सच्चा भलाद्मी थिए । उनले वर्षौंदेखि धेरैलाई प्रेरणा दिए र धेरैले यस दुखद् घडीमा शोकाकूल परिवारलाई माया र शक्ति पठाएर धेरै सम्झना गरिरहेका छन् । सिक्लेसका सङ्घीय सांसद (कास्की–१) मनबहादुर गुरुङले ‘सुरज सर बौद्धिक हिसाबले तिखारिएका हुनाले उहाँको अथाह ज्ञान र बुद्धिको तुलना गाउँमा कसैले गर्न नसक्ने हुँदा उहाँको धेरै अभाव हुने’ स्मरण गरे । उनी जनताको मन र दिमागमा ‘तारा’ बनेर रहिरहनेछन् किनभने उनी जन्मका हिसाबले मात्रै सिक्लेसका मानिस थिएनन्, बरु कर्म र समर्पणका हिसाबले पनि सिक्लेस नै उनको सर्वस्व थियो ।
सुरज सरको निधनले शोकाकूल बनाएको भएपनि उनले आफ्नो जीवनकालमा गरेको योगदानले संसारभरका हामीलाई एकताबद्ध बनाएको छ । उनको ज्योति चम्काउन प्रतिबद्ध रहँदै उनको योगदानको कदरस्वरुप सुरज सरको परिवार, अन्नपूर्ण माध्यमिक विद्यालय र शुभचिन्तकहरुको फराकिलो नेटवर्कको सहयोगमा सिक्लेसमा गुणस्तरीय शिक्षाको थप सुधार र विकासमा सहयोग पुर्याउन सुरज गुरुङ स्मृति कोष स्थापना गर्दैछौं ।
(डा. हुम गुरुङ बर्ड लाइफ इण्टरन्याशनलको एसिया पार्टनरशिप म्यानेजर हुन् भने डा. सेरा पार्कर बेलायतस्थित लिभरपुल जोन मोर्स विश्वविद्यालयमा विकास अध्ययन विषयकी सहप्राध्यापक तथा नेपालमा रजस्वला भेदभाव विषयक अनुसन्धान परियोजनाकी प्रमुख हुन् । यो शोकाप्ति डा. गुरुङ र डा. पार्करबाट अंग्रेजी भाषामा सम्प्रेषण भएकोमा त्यसलाई नेपाल टेलिभिजनका पत्रकार राजेन्द्रराज तिमिल्सिनाले नेपालीमा उल्था गरेका हुन् ।)