धुलिखेल । राष्ट्रिय वाणिज्य बैंकको आर्थिक वर्ष २०७९।०८० को अर्ध वार्षिक प्रगति विवरणबारे सो बैंकका उच्च अधिकारीहरुले धुलिखेल पुगेर दुई दिनसम्म वृह्त विचारविमर्श सम्पन्न गरेका छन् । घर र कार्यालयबाट टाढा रही नितान्त बैंककै प्रगतिबारे चिन्तन गर्न सम्बद्ध अधिकारीहरुलाई धुलिखेल पुर्याइएको थियो । कार्यक्रमको नाम "दुई दिवसीय समीक्षा गोष्ठी" राखिएको थियो ।
धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा सम्पन्न उक्त गोष्ठीको उद्घाटन सत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले गोष्ठीको उद्देश्यसहित स्वागत गर्दै कार्यक्रम अघि बढाएकी थिइन् भने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी गोष्ठी उद्घाटन गरेका थिए । ब्रान्च अपरेशन विभागका प्रमुख आनन्द सुवेदीले उक्त गोष्ठी सञ्चालन गरेका थिए ।
बैंकका सातवटै प्रादेशिक कार्यालयका प्रमुखहरु, २३ वटा विभागका विभागीय प्रमुखहरु, बैंकका उपकार्यकारी अधिकृतहरु एवम नायब प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले गत आर्थिक वर्षको प्रगति तथा बजेट कार्यान्वयन रणनीतिक गोष्ठीमा निर्धारण गरिएका अधिकांश सूचकहरु सन्तोषजनक रुपमा पूरा भएको बताए । साथै उनले बैंकको मुख्य जिम्मेवारीमा रहेका विभागीय प्रमुख तथा प्रादेशिक प्रमुखहरुले बजारमा कर्जा लगानी र निक्षेप संकलन जस्तो महत्वपूर्ण कार्यमा आफूलाई पूर्ण रुपमा समर्पित गरी बजारमा देखिएको प्रतिस्पर्धामा आफूहरुलाई खरो रुपमा उतार्न विशेष निर्देशन दिए ।
कार्यक्रममा सहभागी प्रादेशिक प्रमुखहरु र विभागीय प्रमुखहरुले आ–आफ्नो कार्यालयको प्रगतिको विवरण प्रस्तुत गरेकामा बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रम'ख कार्यकारी अधिकृत र उपकार्यकारी अधिकृतहरुले जिज्ञासा राख्दै सुझाउ समेत दिएका थिए ।
दुई दिनसम्मको व्यापक मन्थनपछि गोष्ठीको अन्तमा बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत र उपकार्यकारी अधिकृतहरुले अब उच्च अधिकारीहरुले बहन गर्नु पर्ने भूमिका र बैंकलाई अब्बल राखिराख्न चाल्नु पर्ने कदमबारे निचोड मन्तव्य व्यक्त गरेका थिए । तयस क्रममा सहभागीहरुले नेतृत्वबाट प्राप्त निर्देशनहरुलाई आत्मसात गर्दै लक्ष्यहरू समयमै पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।