नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालमाथि घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरेका छन् ।
पार्टीको काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’
देश, जनता र लाखौँ कार्यकर्ताको भविष्यमाथि माधव नेपालले खेलवाड गरेको आरोप ओलीले लगाए । ‘माधव नेपालले १५ वर्ष पार्टी चलाए, प्रधानमन्त्री बने, अब त जानुपर्ने त कहीँ छैन’, उनले भने, ‘तर, आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’
माधव नेपालले झुक्याएर एमालेका केही नेता कार्यकर्तालाई आफ्नो गुटमा लगेको भन्दै ओलीले झुक्किएर गएका कार्यकर्ताहरूलाई एमालेमा फर्कन आह्वान गरे । साथै उनले प्रचण्डसँग गएका कार्यकर्तालाई पनि फर्कन आग्रह गरे ।
ओलीभन्दा पहिले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालको अझै पनि पार्टीमा खाँचो रहेको भन्दै एमालेमा नै फर्कन आग्रह गरेकीमा पनि ओलीले प्रतिवाद गरे । उनले अब किन चाहियो माधव नेपाल, फेरि पार्टी फोड्न ? भन्दै प्रश्न गरेका थिए ।
उनले ‘प्रचण्ड’ र माधव नेपाल आ-आफ्नो गुट लिएर बसेको भन्दै एमाले अध्यक्ष ओलीले प्रचण्ड र नेपालले दुईपटक पार्टी विभाजन गरेको आरोप पनि लगाए ।
‘कम्युनिष्ट एकतालाई एक पटक प्रचण्डले पार्टी फुटाए, अर्को पटक माधवकुमार नेपालले फुटाए’, ओलीले भने, ‘माओवादी केन्द्र वैधानिक रूपमा नाम त छ । केन्द्र त यहाँ छ । प्रचण्ड त आफ्नो गुट लिएर बसेका छन् । माधव नेपाल आफ्नो गुट लिएर बसेका छन् ।’
एमाले अझै एकताबद्ध भएर अघि बढ्ने उनले दावी गरे ।