देवघाटस्थित महेश संन्यास आश्रमले आफ्ना संस्थापक स्वामी रामानन्द गिरिको नाममा अनुसन्धान केन्द्र प्रवर्धनका लागि आज तीन वटा विश्वविद्यालयका उपकुलपति समेतको उपस्थितिमा अनुसन्धान केन्द्र RRC परामर्श सभा सम्पन्न गर्यो । ब्रह्मलीन स्वामीको इच्छा उच्चस्तरीय अनुसन्धान केन्द्र स्थापना गर्ने थियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा.प्रेमनारायण अर्याल, नेपाल-संस्कृत-विश्वविद्यालयका उपकुलपति प्रा. डा यादवप्रकाश लामिछाने एकैसाथ उपस्थित थिए ।
देवघाटका प्रमुख आश्रमका प्रमुखहरुको पनि कार्यक्रममा सहभागिता थियो । त्यसबखत गलेश्वर आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरिले आज पूर्वीय वाङ्मयका ग्रन्थहरूको अपव्याख्या गरी पुस्तक प्रकाशन भइरहेको दुरवस्थामा अनुसन्धान केन्द्र RRC ले ग्रन्थको प्रामाणिक अर्थलाई प्रकाश गर्ने पुस्तक प्रकाशन गर्नुपर्ने करामा जोड दिँदै अनुसन्धान केन्द्र निर्माणार्थ सम्पूर्ण उदारमना दाताहरूलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
करिब पाँच घण्टासम्म चलेको उक्त कार्यक्रममा सभापतित्व महेश-संन्यास-आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको थियो भने सभामा उपस्थित सम्पूर्ण महानुभावहरूलाई विद्यापीठका प्राचार्य उपप्रा.कमल सुवेदीबाट स्वागत गराइएको थियो । कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष लीलबहादुर गुरुङ्, उपाध्यक्ष भुवनसिंह गुरुङ्ले स्थानीय सरकारले यसको निर्माण एवं सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
देवघाट सार्वजनिक पुस्तकालयका अध्यक्ष एवं RRC का सदस्य शिवराज पोडेल, त्रिविका विभागीय प्रमुख लक्ष्मण सुवेदी, काठमाडौँ विश्वविद्यालयका अनन्त रिसाल, कालिका संस्कृत विद्यापीठका प्राचार्य सहप्रा.डा.रामचन्द्र कँडेल, पराशर-क्षेत्र-संरक्षण-समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठ एवं परमानन्द-संस्कृत-गुरुकुल-विद्यापीठका प्राचार्य ब्रह्मचारी सुभाव चैतन्य लगायत विशिष्ट विद्वान्हरूले आ-आफ्ना टिप्पणी र सुझावहरू प्रस्तुत गरेका थिए । अन्त्यमा महेश-संन्यास-आश्रमका प्रधान संरक्षक स्वामी मधुसूदनानन्द गिरिको आशीर्वादबाट सभा विसर्जन गरिएको थियो ।
पूर्वीय वाङ्मय र ज्ञानविज्ञानको अध्ययन-अनुसन्धान गर्ने उद्देश्यले सञ्चालन गर्न लागेको रामानन्द अनुसन्धान केन्द्र RRC को स्थापनार्थ समायोजित गीताज्ञान महोत्सव एवम् भूमिदान महाअभियान २०७९को पूर्वसन्ध्यामा आज विशिष्टविद्वान्हरूलाई आमन्त्रण गरेर परामर्श सभा सम्पन्न गरिएको कार्यक्रमका सञ्चालक उपप्रा.फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए ।