प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी सुदूरपश्चिमले जितेको छ । इटहरीको जनता क्रिकेट पार्कमा शनिबार सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।
जितका लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले सो लक्ष्य १९.५ बलमा ४ विकेट गुमाउँदै पुरा गर्यो । सुदूरकी कविता जोशी २० बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहदा सम्झना खड्का ३३ बलमा २ चौकासहित २७ रनमा अविजित रहिन् ।
डली भट्ट १६ बलमा १ चौका र २ छक्कासहित २२, विन्दु रावल ७, कविता कुवर १२ र रुवि पोदार ८ रनमा आउट भए । प्रदेश एकको लागि सबनम राई, रुविना क्षेत्री, संगिता राई र हिरनमय रायले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १ रन बनाएको थियो ।
प्रतियोगितामा कविता कुवरले बिधागत पुरस्कारमा वर्चश्व कायम राखिन् । उनले स्कुटरसगै प्रमुख दुई अवार्ड जितिन् । कविताले उदयमान खेलाडीको रूपमा सहआयोजक सुनसरी जिल्ला क्रिकेट संघले प्रदान गरेको २ लाख ७० हजार मूल्यको स्कुटर पाइन् ।
कविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर समेत भइन् । सर्वोत्कृष्ट खेलाडी वापत उनले ३० हजार र ब्याटरको रूपमा २० हजार नगद पुरस्कार पाइन् ।
सुदूरपश्चिमकै मनिषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित हुँदै नगद २० हजार पुरस्कार पाइन् । विजेता सुदूरले पाँच लाख र उपविजेता प्रदेश एकले तीन लाख प्राप्त गरेको छ ।