हेभी सवारी टिप्पर १७ वर्षको बालकले समेत हाँकेर मानिसको ज्यान लिएको खुल्न आएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले सार्वजनिक गरेको विवरणमा सवारी ज्यान मुद्दाको अभियुक्त १७ वर्षे बालकलाई अदालतको आदेशमा पुर्पक्षका लागि बालसुधार गृहमा पठाइएको छ । अन्य दुई अभियुकत्लाई भने पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा बालगृह र कारागार पठाएको हव ।
२०७९ मंसिर २५ गते राति सवा दस बजेको समयमा का.जि.तारकेश्वर न.पा.वडा नं. ३ धर्मस्थली - चिसापानी - तीनपिप्ले सडक खण्डमा बाग्मती प्रदेश ०२-०२५ प ६१८९ नम्बरको यमाहा कम्पनीको मो.सा. लाई टिप्परले ठक्कर दिई फरार रहेको थियो ।
तत्काल प्रहरी वृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली परिचालित भई घटनास्थल नजिकबाट घाइतेलाई उद्धार गरी उपचारको लागि ग्रिनसिटी अस्पताल बसुन्धारामा लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको थियो ।
तत्काल जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी वृत्त बालाजुबाट संयुक्तरुपमा खटिएको अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीद्वारा अनुसन्धानको विविध बिधि र प्रविधिसमेतको प्रयोग गरी दुर्घटना तथा ज्यान सम्बन्धी कसूरमा संलग्न भई फरार रहेका व्यक्तिहरुको पहिचान र खोजतलास गर्ने क्रममा निम्न व्यक्तिहरुलाई टिप्परसहित उनीहरलाई नियन्त्रणमा लिइएको प्रहीको भनाइ छ ।
पक्राउ पर्नेमा जिल्ला नुवाकोट ककनी गाउँपालिका वडा नं.०१ घर भई बस्ने बर्ष ३५ को बिमल बलामी, नुवाकोटकै ककनी गाउँपालिका वडा नं.०१ घर भई बस्ने बर्ष २५ को राहुल बलामी, नुवाकोट ककनी गाउँपालिका वडा नं.०१ घर भई बस्ने बर्ष २३ को शंकर बलामी, ककनी गाउँपालिका वडा नं.०१ घर भई बस्ने बर्ष अं.१७ को परिवर्तित नाम बालाजु ०७९।०८० (२५) / सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.१४ घर भई हाल काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका वडा नं.०३ चाल्नाखेल बस्ने बर्ष ३० को शिवजी बि.क. रहेको काठमाडौं प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
उनीहरुबाट दशीको रुपमा बा ४ ख ९५४३ नं. को टिप्पर र बा ५ ख ६७७९ नं. को टिप्पर बरामद भएको छ । घटनामा संलग्न प्रतिवादीहरु उपर सूक्ष्म तवरले अनुसन्धान कार्य सम्पन्न गरी अनुसन्धान अधिकृतको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालय बवरमहल काठमाडौंमा पेश गरिएकोमा थुनछेक बहस पश्चात जिल्ला अदालतको मिति २०७९।०९।२२ गतेको आदेशले प्रतिवादीहरुलाई थुनामा पठाइएको हो । त्यसरी सजाइँ पाउनेमा विमल बलामी, राहुल बलामी र शंकर बलामी ३ जनालाई मुद्दाको पुर्पक्षको लागि केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको छ ।
परिवर्तित नाम बालाजु ०७९।०८० (२५) लाई पुर्पक्षको लागि बाल सुधार गृह सानोठिमी भक्तपुर पठाइएको छ भने शिवजी वि.क. सुनारलाई रु.१,५०,०००।– (अक्षरेपी एक लाख पचास हजार) धरौटी रकम माग भएकोमा निजले धरौटी रकम दाखिला गर्न नसकेकोले केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको मैनालीले जानकारी दिए ।