भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ । नेपाल-भारत रेल सेवा सम्झौता भएको १७ वर्षपछि पहिलोपटक भारतीय निजी क्षेत्रको रेल आज बिहान वीरगञ्ज आइपुगेको हो ।
हिन्द टर्मिनल प्रालिको एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । हल्दियाबाट खाद्यान्नका २० फिट अग्ला ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।
उनका अनुसार हिन्द टर्मिनल प्रालिले सातामा दुई दिन कार्गाे ढुवानी गर्ने जनाएको छ । साठ्ठै अन्य चार वटा निजी कम्पनीले समेत कार्गाे ढुवानीमा इच्छा देखाएका छन् । निजी क्षेत्रका कार्गाे रेललाई ढुवानी खुला गरेसगैँ अन्य कम्पनी पनि आउने विश्वास उनको छ ।
रेल सेवा सम्झौता संशोधनपछि निजी कार्गाेको प्रवेश
नेपाल र भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्थाको रुपमा रहेको कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिएको थियो । १७ वर्षपछि भारतीय कन्टेनरको एकाधिकार तोड्दै गत असार २५ गते सम्झौता संशोधन गरिएको थियो । सम्झौतामा गरिएको संशोधनको करिब दुई महिना पश्चात् पहिलो पटक निजी कार्गाे रेल वीरगन्जस्थित सुख्खा बन्दरगाहामा आएको हो ।
गत असार २५ गते रेल सेवा सम्झौता संशोधन गर्दा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेल मन्त्रालयअन्तर्गतको परिचालन एवं व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहान्तीको नेतृत्वमा भर्चुअल समारोहमा कूटनीतिक पत्र तथा दुवै पक्षले हस्ताक्षर गरेको लेटर अफ एक्सचेन्ज आदानप्रदान गरिएको थियो ।
संशोधित सम्झौतामा नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेल्वे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले पनि वीरगञ्ज र विराटनगरदेखि कोलकाता हल्दियासम्म रेल सेवा दिनसक्ने व्यवस्था गरिएको छ । यस्तै, नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरवामा आवश्यक पूर्वाधार तयार भएपछि ती ठाउँमा पनि रेल सेवा विस्तार गर्दै जाने समेत सहमति गरिएको छ ।