स्याङ्जा । पोखरा महानगर पालिका वडा नं. ४, कास्कीमा रहेको नेलम्बो नेपालले स्याङ्गजा जिल्लामा रहेको आँधीखोला गाउँपालिकासँग सहकार्य गरी आँधीखोला गाउँपालिका वडा नं. १ मा रहेको पंचमूल प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाको उद्देश्य ग्रामीण इलाकाका दुरदरारमा वर्षौदेखि विभिन्न रोगहरुको पहिचान हुन नसकी उपचार गर्नबाट बञ्चित समुदायलाई रोग पहिचान र निराकरणमा मद्दत पुर्याउने उद्देश्य रहेको छ ।
उक्त शिविरमा ६३३ जनाले सेवा लिएका थिए । शिविरमा विभिन्न सेवाहरु उपलब्ध गराइएको थियो जसमा जनरल फिजिसियनमा ४४३ सेवा, हाडजोर्नी सम्बन्धी २७८ सेवा, स्त्री रोग (गाइनो) सम्बन्धी, १५७ सेवा, नाक कान, घाँटी सम्बन्धी १८२, दन्त सम्बन्धी, २६५ सेवा, छाला सम्बन्धी ११४ सेवा, भिडियो एक्सरे ३२ सेवा, इसिजि ५३, ल्याब परीक्षण १३१ सेवा गरी जम्मा कुल १६४६ सेवा दिन सफल भएको हो । उक्त शिविरमा एक आकस्मिक प्रसुति सेवा पनि प्रदान गरिएको थियो । शिविरमा डा. प्रकाश कार्की, डा. विनोद बराल, डा. सुदर्शन आचार्य र डा. सिजन मर्सानीले सेवा प्रदान गरेका थिए भने अन्य प्राविधिक टोलीमा १५ जना खटिएका थिए ।
उक्त शिविरमा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले नेलम्बो नेपाल संस्थासँग पहिलोपटकको भेटमा कास्कीमा रहेको संस्थाले स्याङ्गजामा आएर यतिका सेवाहरु प्रदान गर्न सक्दैन होला जस्तो लागेको तर सेवा र सुविधा हेर्दा कुनै पनि प्राइभेट अस्पताल भन्दा फरक नरहेको र सेवा प्रदानमा प्राविधिक टिमले राम्रोसँग गुणस्तरीय सेवा प्रदान गरेको बताए । उनले नेलम्बो नेपालसँग थप कार्यक्रमका लागि आफू कुनै पनि समयमा सहकार्य गर्न तयार रहेको र पालिकाका अन्य स्थानमा यस्तै खालको विशेषज्ञ सेवा पुर्याउन तयार रहेको बताए ।
सोही कार्यक्रममा सहयोगी संस्थाका अध्यक्ष एकदेव देवकोटाले आफूहरुको कार्यक्रमप्रति गाउँपालिकाले विश्वास गरेर सहकार्य गरेकोप्रति आभार व्यक्त गरे । उनले नेलम्बो नेपाल विपन्न समुदायको दुरदरारमा गएर सेवा दिने संस्था भएको हुँदा गुणस्तरीय सेवा प्रदानको लागि सधैँ तयार रहेको र संस्थाले स्थानियको सक्रियता भएको ठाउँमा क्रार्यक्रम सञ्चालन गर्ने र त्यसले दुवैको अपनत्व हुने पनि बताए ।
उक्त कार्यक्रमलाई कास्की देखि स्याङ्गजा सम्म पुर्याउनमा समन्वयकारी भूमिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीको थियो । कार्यक्रममा अधिकारीले नेलम्बो नेपालसँग अन्य पालिकामा आफू प्रशासकीय अधिकृत हुँदा सहकार्य सफलताका साथ गरेको अनुभवका आधारमा आँधीखोला गाउँपालिकामा पनि सहकार्य गरेको बताए । उनले नेलम्बो नेपालका हरेक कार्यक्रममा गुणस्तरीयता हुने र कोभिड १९ को विश्व महामारीमा नेलम्बो नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्यहरु गरेको पनि स्मरण गराए ।
सो कार्यक्रममा आँधीखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष पवन काजी अधिकारीले शिविर आफूले धेरै देखेको र भोगेको तर यस खालको निःशुल्क स्वास्थ्य शिविर पहिलोपटक देखेको र शिविरको गुणस्तरीयतामा कुनै पनि कमीकम्जोरी नदेखिएको र आफुले पनि सेवा लिएर सन्तुष्टी पाएको बताए । पवन काजीको अध्यक्षतामा संञ्चालित कार्यक्रम पंचमूल प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डिल्लीराम अधिकारीले सञ्चालन गरेका थिए ।